भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

युद्ध अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको चाहना

किएभ – युक्रेनले रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने लक्ष्य लिएको छ तर त्यसमा विपक्षी क्रेमलिनले भाग लिने अपेक्षा किएभले गरेको छैन । रुस शान्ति शिखर सम्मेलनमा सहभागी नभएपछि चाँडै युद्ध अन्त्य हुने भविष्यवाणी गर्न कठिन भएको छ । 

    युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशको सरकारले आगामी दुई महिना भित्रमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको मध्यस्थतामा शान्ति शिखर सम्मेलन गर्न चाहेको एसोसिएटेड प्रेसलाई बताउनुभएको छ । सन् २०२३ भित्रमा युद्ध अन्त्य होस् भन्ने युक्रेनी चाहना रहेको पनि उहाँले बताउनुभएको छ । 

    संयुक्त राष्ट्रसङ्घले पनि ‘महासचिवले विगतमा धेरै पटक भनेझै सबै पक्षले मध्यस्थता गरून् भन्ने चाहेमा मात्र’ उहाँले मध्यस्थता गर्नसक्ने प्रतिक्रिया दिएको छ । टर्कीको अग्रसरतामा खाद्यान्न आपूर्ति गर्नेसम्बन्धी यसअघि सम्झौताजस्तै शान्तिवार्ताका निम्ति रुससँग छलफल गर्न अन्य राष्ट्रहरू स्वतन्त्र ढङ्गले लाग्नसक्ने विदेशमन्त्री कुलेबाले बताउनुभयो । 

    आफ्नो देशले मस्कोसँग प्रत्यक्ष वार्ता गर्नु अघि रसियाले युद्धअपराध न्यायाधिकरणको सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । साथै उहाँले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गत हप्ताको अमेरिका भ्रमणको नतिजाबाट आफू पूर्ण रूपमा सन्तुष्ट भएको बताउनुभयो । 

रासस÷एपी

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ९ : ३७ बजे