बालकोटको बार्दली कसरी बन्यो सत्ताको डबली?

​​​​​​​आज बजारमा चर्चा छ, सत्ता समीकरणको साँचो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट एकाएक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा कसरी पुग्यो ? प्रश्नको उत्तर फरक–फरक भेटिन सक्छ, किनभने राजनीतिको रूप पक्ष हेर्नेले दिने उत्तर र सार पक्ष बुझ्नेले दिने उत्तर फरक हुनेछ । तर पनि जुन ढङ्गले समीकरण बदलियो त्यसले राजनीतिक पण्डितहरूलाई मात्र होइन, सामान्य जनलाई पनि आश्चर्यमा पारेको छ । हिजोसम्म विरोध र आलोचनाको तारो बनेका पात्र केपी ओली आज किङ मेकर मात्र बनेका छैनन्, सत्ता समीकरणको मुख्य शीर्ष नेता पनि भएका छन् । बदलिएको सत्ता समीकरणले गठबन्धन बनाएर जितेको काँग्रेस हारेको छ भने हराइएको एमालेले जित्दै छ । काङ्ग्रेसहरू चकित परेर भन्दै छन्, बालकोटको बार्दली कसरी बन्यो सत्ता डबली?

५ पुस प्रतिगमन थिएन, त्यो जनादेश खण्डित हुने अवस्था आएपछि जनतामा जाने सुझबुझपूर्ण राजनीतिक निर्णय थियो । त्यतिखेर केपी ओलीको ख्यातिमा आफ्नो प्रगति देख्न नसकेका प्रचण्डलगायतका प्रायः सबै नेता तथा विश्लेषकहरू यतिखेर ओली बेठीक थिएनन् भन्ने ठाउँमा पुगेका छन्।

बिहानदेखि बदलिएको राजनीतिक माहौलले साँझ पर्दा प्रचण्डलाई ४४ औँ प्रधानमन्त्री बन्ने अवसर जुरायो । २/२/१ को सूत्रलाई कार्यान्वयनमा लैजान काँग्रेसमा पहिलो २ वर्षे कार्यकाल शेरबहादुर देउवालाई बनाउन खोज्दा प्रचण्ड बालकोटको बार्दलीमा रमाउने राजनीतिक परिवेश बन्यो । यो देखिएको पक्ष हो तर देउवा र प्रचण्डबीच सहमति नहुनुमा पर्दा पछाडिका खेलाडीहरूको मुख्य भूमिका रहेको बुझिन्छ । पहिलो दुई वर्षका लागि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्न चाहन्थे । बाह्य शक्तिले पनि काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहन्थ्यो किनभने थाँती रहेका कामहरू फत्ते गर्न काँग्रेस नै उसका लागि सहज थियो । तर बाह्य शक्तिको त्यो चाहाना पूरा गर्न दिनुहुन्न भन्ने राजनीतिक शक्ति गठबन्धन भत्काउने कसरतमा चुनाव अघिदेखि नै प्रयासरत थियो र प्रचण्डलाई गठबन्धनबाट बाहिर ल्याउन पहिलो अढाई वर्ष उनलाई प्रधानमन्त्री बनाउन तयार भयो । जसले गर्दा गठबन्धन मात्र भत्किएन, बाह्य चलखेलको रिढ पनि भाँचियो ।

समयको खेल हिजो नेकपा एमाले र केपी ओलीको विरोधमा रमाउनेहरू आज प्रशंसक बन्दैछन् । बार्दलीको चातुर्यता र शक्ति पनि बुझ्दैछन् ।

राजनीति कतिखेर निर्मम हुन्छ र कति निर्मम हुन्छ अनि राजनीतिक दलहरूबीच बैरभावका बीचमा पनि कसरी संवाद र सहकार्य हुन्छ भन्ने कुरा जान्न राजनीतिक विश्लेषकहरूले नेपालको राजनीति र वामपन्थी दलहरूको राजनीतिक गतिविधिहरूलाई सूक्ष्म विश्लेषण गर्ने क्षमता देखाउन सक्नुपर्छ । अन्यथा पछिल्लो राजनीतिक समीकरण बन्नु र बालकोटको बार्दलीमा ओली र प्रचण्ड उभिनु पछाडिका कारणहरू बुझ्न सकिदैन् र को कतिखेर किङमेकर बन्छ पत्तो हुदैन् । किनभने राजनीति सम्भावनाहरूमा चतुर्याईंपूर्ण तरिकाबाट खेलिने खेल पनि हो । राजनीतिमा जे भनिन्छ, त्यो गरिदैन् अनि जे गरिन्छ त्यो भनिदैन् भन्ने कुरा अहिलेको राजनीतिक घटनाक्रमले पुष्टि गरेको छ ।

अब अन्यथा नभएमा नेपालमा फेरि राजनीतिक रथले वामपन्थी ट्र्याक समात्ने र देशलाई अग्रगमनको पथबाट अगाडि बढाउने परिस्थिति बनेको छ । त्यसको मुख्य शीर्ष नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी ओली नै हुनेछन् भलै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नै किन नहुन् ! राजनीति गर्नेहरूले यो पछिल्लो घटनाक्रमलाई सहज रूपमा लिन र राजनीतिमा नयाँ बाटो बनाउन सक्नुपर्छ । केन्द्रीय सत्तामा निर्णायक भूमिका निभाउनका नेकपा एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउनु नै पर्थ्यो किनभने गोरेटो, घोरेटो, ग्राभेल बाटो बनाएपछि अनि कालोपत्रे पक्कि बाटो बनाउन सजिलो हुन्छ । आजको सत्ता समीकरणले भोलिको वामपन्थी एकीकरणको बाटो बनाएको र एकीकरणको सम्भावना बढाएको छ ।

नेकपा एमालेको नेतृत्वमा बन्यो नयाँ सत्ता समीकरण ! समयको नियति आखिरमा प्रचण्ड बालकोटको बार्दलीमा पुग्नै पर्‍यो ।  नभने पनि ५ पुस २०७७ प्रतिगमन थिएन भनेर मान्नै पर्‍यो । त्यसैले आजबाट केपी ओली किङमेकर र गठबन्धनको शीर्ष नेता भएका छन् तर प्रधानमन्त्री भने प्रचण्ड बनेका छन् । नेकपा एमालेलाई कमजोर बनाएर होइन बलियो बनाएर नै आफ्नो राजनीतिक भविष्य जोगिने निष्कर्षमा माओवादी केन्द्रले लगायतका दलहरू पुगेको समीकरणको सङ्ख्याले देखायो । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्दैथे, “हाम्रो हातबाट सबै थोक जान्छ कि भन्ने डर छ ।” नभन्दै त्यस्तै हुँदैछ, चुनावमा गठबन्धन गरेर पहिलो बनेको नेपाली काँग्रेस सत्ताको खेलमा हात लाग्यो शून्यको स्थितिमा पुगेको छ र एमालेले जितेको छ । 

राजनीति कतिखेर निर्मम हुन्छ र कति निर्मम हुन्छ अनि राजनीतिक दलहरूबीच बैरभावका बीचमा पनि कसरी संवाद र सहकार्य हुन्छ भन्ने कुरा जान्न राजनीतिक विश्लेषकहरूले नेपालको राजनीति र वामपन्थी दलहरूको राजनीतिक गतिविधिहरूलाई सूक्ष्म विश्लेषण गर्ने क्षमता देखाउन सक्नुपर्छ ।

नयाँ गठबन्धन र केपी ओलीलाई लिएर सामाजिक सञ्जालमा यादव देवकोटा लेख्छन्, “गएको तीन वर्षमा राजनीति कसैले जित्यो भने त्यो केपी ओलीले जिते । झन्डै सडक छाप भएका केपी ओलीले पहिले आफूलाई जोगाए । त्यसपछि नेकपा एमाले जोगाए । अस्ति चुनावमा एमालेको राजनीति जोगाए । अहिले राजनीति नै आफ्नो कमाण्डमा ल्याए । जति मन नपरे पनि यति त मान्नै पर्‍यो ।” प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर व्यङ्ग्य गर्दै भावना सुवेदी लेख्छिन्, “आज अरूलाई क्रिसमस त देउवालाई अप्रिल फुल भएको छ !” सामाजिक सञ्जालमा आएका यी दुई टिप्पणीहरूले हाम्रो राजनीतिको अवस्था देखाएको छ । पछिल्लो सत्ता समीकरण र केपी ओलीको नेतृत्वलाई लिएर नेकपा एमालेका सचिव योगेश भट्टराई लेख्छन्, “२०७९ पौष ७ गते बिहान भएको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकको मुल स्पिरिट यही थियो जसलाई अध्यक्ष कमरेड केपी ओलीले कुशलतापूर्वक नेतृत्व गर्नुभयो परिणाम आयो । चुनाव गराउनेको बहुमत नआउनु भनेको नयाँ विकल्पमा जाने जनादेश हो, संसदीय लोकतन्त्र भएका मुलुकमा यसलाई स्वाभाविक मान्नुपर्छ।”

समयको खेल हिजो नेकपा एमाले र केपी ओलीको विरोधमा रमाउनेहरू आज प्रशंसक बन्दैछन् । बार्दलीको चातुर्यता र शक्ति पनि बुझ्दैछन् । यो लेखकले हिजो भनेको थियो, ५ पुस प्रतिगमन थिएन, त्यो जनादेश खण्डित हुने अवस्था आएपछि जनतामा जाने सुझबुझपूर्ण राजनीतिक निर्णय थियो । त्यतिखेर केपी ओलीको ख्यातिमा आफ्नो प्रगति देख्न नसकेका प्रचण्डलगायतका प्रायः सबै नेता तथा विश्लेषकहरू यतिखेर ओली बेठीक थिएनन् भन्ने ठाउँमा पुगेका छन्। त्यसैले भागवत गीतामा भनिएको होला,  “जे भयो ठिकै भयो, जे हुँदैछ ठिक हुँदैछ र जे हुनेछ ठिकै हुनेछ ।”

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : १२ बजे