‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तारकेश्वरवासीले अब निःशुल्क रक्त सेवा पाउने

काठमाडौँ । तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्त थैली शुल्क तिर्न नपर्ने भएको छ । 

काठमाडौँ उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर अर्को पालिका भएको छ ।

यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिनुभयो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सेवा समितिका डा लक्ष्मी घिमिरेले तारकेश्वर क्षेत्रमा केन्द्रीय रक्तसञ्चार सेवाको सहकार्यमा रक्त सङ्कलन अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकाको तर्फबाट विभिन्न वडाका वडाध्यक्षलगायत स्वास्थ्य सेवा सम्बन्धित स्वयंसेवक र कर्मचारीको उपस्थिति थियो ।

सो अवसरमा स्थानीय बासिन्दालाई सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा अर्को महत्त्वपूर्ण पहल भएको निर्देशक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।”

रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई नगद शोधभर्ना दिइने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षको कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

नगरपालिकाको स्थायी बासिन्दा भएको वा नगरपालिकामा कार्यरत कर्मचारी भएको प्रमाणित हुने कुनै किसिमको सरकारी कागजात (नागरिकता, मतदाता परिचयपत्र ई)को प्रतिलिपिको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा कालीमाटीबाट निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । साथै दुर्घटनाजन्य अवस्थामा अत्यावश्यक भएमा नगरपालिकाको सिफारिसमा उनीहरूले सेवा पाउने छन् ।

सम्झौता पूर्व रक्तदानको महत्त्व र अवस्थाका बारेमा नेरेसोका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र निर्देशक पौडेलले अभिमुखीकरण गर्नुभएको थियो । रासस

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ५३ बजे