मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिनुभएको समय आज सकिँदै

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको समय आज साँझ ५ः०० सकिँदै छ। 

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्तिका लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिले दिनुभएको समय सकिनै लाग्दा राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् तर सरकार गठनका लागि अहिलेसम्म कसैले पनि बहुमत जुटाउन सकिरहेका छैनन् । 

सत्तारुढ गठबन्धन आबद्ध दलहरू औपचारिक तथा अनौपचारिक रूपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । शनिवार साँझ पनि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो तर  उक्त बैठकले पनि कुनै निर्णय गर्न सकेन । आज पुनः सत्तारुढ गठबन्धनको निर्णायक बैठक बस्ने भएको छ । 

राष्ट्रपतिले दिनुभएको समय सीमाभित्र दलहरूले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेनन् भने दलहरूकै आग्रहमा राष्ट्रपतिले पुनः संविधानको धारा ७६ को २ अनुसार समय थप गर्ने वा संविधानको धारा ७६ को ३ अनुसार सरकार गठनका लागि समय दिने सम्भावना रहन्छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ०८ बजे