काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले काँग्रेसका सांसदहरूलाई बालुवाटार बोलाउनुभएको छ ।
प्रधानमन्त्रीले मध्यान्ह १२ः३० बजे काँग्रेसका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सांसदहरूलाई बोलाउनुभएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि पहिलो पटक सांसदहरूसँग छलफल गर्न लाग्नुभएको हो । सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरूलाई बोलाउनुभएको छ ।
आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन काँग्रेसले सांसदहरूको हस्ताक्षर गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बुझिएको छ ।
प्रतिनिधिसभामा काँग्रेसका ८९ जना सांसद छन्। काँग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेको छ।
राष्ट्रपतिले सरकार गठनका लागि गर्न दलहरूलाई दिनुभएको समय भोलि अपराह्न ५ः०० बजे सकिँदै छ।
प्रकाशित मिति : ९ पुस २०७९, शनिबार १२ : ०४ बजे
प्रतिक्रिया