चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो

काठमाडौँ । हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको हो । आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई प्रत्यर्पण गरिने गृह मन्त्रालयको तयारी छ ।

अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले कारागारको पत्र अध्ययनपछि डिपोर्टको प्रक्रिया अघि बढ्ने बताउनुभयो । शोभराजले १० दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ३० बजे