मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले मातृभाषामा पनि शपथ लिन पाउने

पोखरा । गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले मातृभाषामा पनि शपथ लिन पाउने भएका छन् । 

संसद् सचिवालयले सांसदलाई मातृभाषामा शपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका लागि सांसदहरूले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ ।

“कसैको आफ्नै भाषा छ भने त्यसमा हामी शपथ गराउन सक्छौँ । हुन त हामीसँग उल्था गर्ने मान्छे हुनुहुन्न” संसद् सचिव हरिराज पोखरेलले भन्नुभयो, “तर उहाँहरूले चाहनुभयो भने त्यसको व्यवस्था हामी मिलाउँछौँ ।”  

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदहरूको शपथ १४ गतेका लागि तोकिएको छ । १४ गते बिहान ११ः०० बजेका लागि सांसदलाई निम्तो पठाउन लागिएको सचिव पोखरेलले बताउनुभयो । १४ गते  १ः०० बजेदेखि शपथको कार्यक्रम सुरु हुने छ । त्यसअघि १३ गते नै ज्येष्ठ सदस्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिनुहुने छ । 

गण्डकीमा पर्वतबाट निर्वाचित मित्रलाल बस्याल सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ । प्रदेश प्रमुखबाट शपथ लिएपछि भोलिपल्ट अन्य सांसदलाई उहाँले नै शपथ गराउनुहुनेछ । 

उहाँ सभामुख निर्वाचित नहुँदासम्मका लागि सभाध्यक्ष समेत हुनहुनेछ । ६० सदस्यीय गण्डकीमा २७ सीट काँग्रेस, २२ सीट एमाले, ८ सीट माओवादी, २ सीट राप्रपा र १ सीट एकीकृत समाजवादीको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : २७ बजे