काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घण्टा ढिलो मतदान सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलो गरी सुरु भएको हो ।
अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति जुटेको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताउनुभयो ।
संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा हुनुहुन्छ ।
निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति : ६ पुस २०७९, बुधबार ८ : ५१ बजे
प्रतिक्रिया