मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

लुम्बिनी प्रदेशसभा बैठक नयाँ भवनमा बस्ने, सांसदलाई प्रदेश प्रमुखबाट शपथ

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । 

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा नयाँ प्रदेशसभा भवन निर्माणको काम अब करिब सकिन लागेको र पहिलो बैठक नै यही भवनमा बस्ने गरी प्रदेशसभा सचिवालयले काम अगाडि बढाएको छ ।

राप्ती गाउँपालिका–३ लालमटियामा निर्माण भइरहेको प्रदेशसभा भवनको पूर्वाधार निर्माणको काम करिब सकिइसकेको छ । “पूर्वाधार निर्माणको काम लगभग सकिएको छ”, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इन्जिनियर विष्णु केसीले भन्नुभयो, “अब अन्य सानातिना काम बाँकी छन् ।”

राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् । नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा शपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।

केसीका अनुसार विद्युत् जोड्ने, रङ्ग रोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । 

भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको थियो । प्रदेशसभा भवनमा सभा हलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादा पालकका लागि १४ वटा कोठा बनेका छन् । प्रदेशसभा भवनको लागत एक अर्ब २० करोड रहेको छ ।

प्रदेशसभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टर लक लगाउने बाँकी छ । विद्युत् जोडिएको छ । रंगरोगन भइसकेको छ । अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्ने लगायतका डेकोरेसनको काम बाँकी छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ । पुस तेस्रो सातासम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ । 

आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौँ रहनुभएको र उहाँ फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्बन्धी आवश्यक निर्णय गर्नेछन् । 

लुम्बिनी प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुखले शपथ गराउनुहुने छ । प्रदेशसभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको शपथ हुनेछ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : १९ बजे