खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलब्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । 

अग्निपीडितलाई राहत तत्काल उपलब्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा नगद सहयोग गर्ने निर्णय भएको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले बताउनुभयो । 

बाक्सिला बजारमा भएको आगलागीमा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको छ । 

आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा तथा कपडा पसल र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको छ । सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षति भएको छ ।

शुभराज राईको घर, सोही घरमा भाडामा बसिरहेका समीर राई (गाउँपालिका अध्यक्ष)को पुस्तक, कपडा तथा किराना पसल र नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षति भएको छ । दीपक गुरुङको घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षति भएको प्रहरीले जनाएको छ । 

रमेश परियारको घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षति भएको छ । अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको काँग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षति भएको डिएसपी मञ्जिल मुकारुङले बताउनुभयो । 

बाक्सिला बजारमा गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन अकबरको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो । 

 

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ७ : २७ बजे