सुनको मूल्यमा नयाँ कीर्तिमान

खोटाङमा डिजिटल स्वाइल ल्याबबाट माटो परीक्षण सुरु

खोटाङ । खोटाङमा डिजिटल स्वाइल ल्याबबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । 

हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दै आएको कृषि ज्ञान केन्द्रले नवौँ विश्व माटो दिवसको अवसरमा गत १७ मङ्सिरदेखि डिजिटल स्वाइल ल्याबबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरेको हो । 

किट बक्स विधिबाट रङ्गको आधारमा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्रा मात्र जाँच गर्ने गरिएकामा डिजिटल स्वाइल ल्याबबाट नाइट्रोजन, फस्फोरस, पोटास, पिएचदेखि अर्ग्यानिक कार्बन, जिङ्क, सल्फर, आइरन, कपर, म्याग्नेस र वोरनको मात्रा पनि पत्ता लाग्ने कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जय पण्डितले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रले हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका किसानले ल्याएका माटोको नमुना परीक्षण गरिरहेको छ । 

डिजिटल स्वाइल टेस्टिङ मिनिल्याव ल्याएपछि ल्याबमार्फत माटोको उर्वराशक्ति परीक्षणको सेवा सुरु गरिएको हो । डिजिटल स्वाइल ल्याबबाट माटो परीक्षणका लागि सुनसरीको झुम्का पुग्नुपर्ने बाध्यता थियो । 

शिविर सञ्चालन गरेर किट बक्सबाट परीक्षण गर्दा रङ्गको आधारमा कम, मध्यम र अधिकमा माटोको वर्गीकरण गर्ने गरिएकामा डिजिटल स्वाइल ल्याबबाट भने अङ्कमै उर्वराशक्तिको मात्रा थाहा हुने कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयो । 

डिजिटल स्वाइल ल्याबबाट माटो परीक्षण गरेपछि माटोमा हाल्नुपर्ने मल खादको मात्राका बारेमा समेत थाहा हुने ज्ञान केन्द्रले जनाएको छ । 

माटोको उर्वराशक्ति परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकांश माटोमा अम्लीयपन र क्षारीयपनका मात्रा अधिक देखिएको छ । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमुना भने नभेटिएको कृषि प्रसार अधिकृत पण्डितले बताउनुभयो । 

माटोको परीक्षणपछि माटोको उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको मल प्रयोग गर्ने र सोही किसिमको खाद्य बाली लगाउने टुङ्गो गरिन्छ । तर माटो परीक्षण गर्ने र उपचार गरेर खेतीपाती गर्ने प्रचलन भने अझै व्यापक बन्न सकेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : २१ बजे