चीनमा अझै पनि कोभिडबाट १० लाखको मृत्यु हुन सक्छ : अध्ययन

बेइजिङ । शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । 

देश ठुला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रहरूमा  फैलिएको सङ्क्रमणको लहरका लागि तयारी भइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।

झन्डै तीन वर्षदेखि भाइरस फैलावटलाई सरकारले कडा लकडाउन, सामूहिक परीक्षण र  सम्पर्क ट्रेसिङ जस्ता उपाय चाल्दै आएको छ । तर, प्रतिबन्धविरुद्ध देशभर व्यापक प्रदर्शनपछि सरकारले कोभिड प्रतिबन्ध खुकुलो बनाएको थियो । प्रतिबन्धका कारण दैनिक जनजीवन कष्टकर बनेको थियो । 

सरकारले प्रतिबन्ध खुकुलो बनाए पनि जोखिमविरुद्ध जुध्न यथेष्ट तयारी नभएको विज्ञहरूले चेतावनी दिएका छन् । वृद्धबृद्धाको खोप दर सशक्त पार्न, अस्पताल र गहन हेरचाह क्षमता बढाउन  र एन्टिभाइरल औषधिहरू भण्डार गर्न देशको तयारी पर्याप्त नभएको  उनीहरूले चेतावनी दिएका छन् ।

हङकङ विश्वविद्यालयका तीन जना प्राध्यापकहरूले अहिलेको अवस्थामा देशव्यापी प्रतिबन्ध खुकुलो बनाउँदा प्रत्येक १० लाखमा ६८४ जनाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन् । चीनको एक अर्ब ४० करोड जनसङ्ख्यालाई हेर्दा यो  ९ लाख ६४ हजार चार सय मृत्यु हो ।

सङ्क्रमण वृद्धिले देशभरि धेरै स्थानीय स्वास्थ्य प्रणालीलाई बोझ पर्ने अनुसन्धानमा जनाइएको छ । अध्ययन मेडर्सिभ प्रिप्रिन्ट सर्भरमा सार्वजनिक गरिएको छ । एजेन्सी

 

 

 

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ५१ बजे