मनसुन क्रमशः क्षीण हुँदै

नेपालमा अस्थिरता चाहनेहरूको योजना निर्वाचनले सफल बनाइदिएको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको जनमतले मुलुकमा अस्थिरतालाई प्रवर्द्धन गर्ने बताउनुभएको छ । 

यो जनमतले मुलुकका समस्याको समाधान नदिने बताउँदै महासचिव पोखरेलले यसको प्रभाव राष्ट्रिय राजनीतिमा बढ्दै जाने बताउनुभयो । 

नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रको सातौँ बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विश्व राजनीतिको प्रभाव नेपालमा परेको र नेपालमा अस्थिरता चाहनेहरूको योजना निर्वाचनले सफल बनाइदिएको विचार व्यक्त गर्नुभयो । 

महासचिव पोखरेलले सामान्यतया सहरिया मध्यम वर्गीय जनता सत्ता विरोधी हुने गरेका र त्यो जनमत निर्वाचनमा प्रतिपक्षको पक्षमा हुने मान्यता रहे पनि एमालेले त्यो जनमत आफ्नो पक्षमा पार्न चुकेको बताउनुभयो । 

विकास निर्माणका काममा जहाँ राज्यको स्रोत बढी खन्याइएको छ, त्यहीँ राष्ट्रिय दलको विकल्पमा मतदान भएको चर्चा गर्दै महासचिव पोखरेलले यसबाट विकास मात्र गरेर नहुने रहेछ, सहरिया मध्यम वर्गीय जनताको मनोविज्ञान बुझेर कार्यक्रम दिन सक्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको बताउनुभयो ।

महासचिव पोखरेलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसके पनि पाँच दलीय गठबन्धनको एमालेलाई सिद्ध्याउने योजना पनि असफल भएको बताउनुभयो । घेराबन्दीको सामना गर्ने सामर्थ्य एमालेले राख्छ भन्ने यस निर्वाचनबाट पुष्टि भएको उहाँको भनाई थियो । 

उहाँले निर्वाचनमा जनसङ्गठनको भूमिका अपेक्षित हुन नसकेको बत्ताउँदै अबका दिनमा योजनाबद्ध र व्यवस्थित ढङ्गले अगाडि बढ्नु जरुरी छ भन्नुभयो । 

जनसङ्गठनहरूले वैचारिक र राजनीतिक कामलाई आफ्नो कामको केन्द्रीय विषय बनाउनुपर्ने, कार्यशैली र सङ्गठनात्मक ढाँचामा परिवर्तन ल्याउनुपर्ने बत्ताउँदै महासचिव पोखरेलले यस निर्वाचनमा भड्केको जनमतलाई पार्टीप्रति प्रतिबद्ध जनमतमा परिणत गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य रचना खड्का, विभिन्न २३ जनसङ्गठनका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ४७ बजे