रवि लामिछानेले राहदानी बनाउँदा प्रयोग गरेका कागजात शङ्कास्पद

काठमाडौं – चितवन क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान जारी छ । जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको छ ।

उहाँको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो । जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले प्राप्त पत्रका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताउनु भयो । थप कुरा अनुसन्धानपछि खुल्ने उहाँको भनाइ छ ।

प्रहरीले लामिछानेविरुद्ध सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार लामिछानेको नागरिकताको विषय कानुनानुसार नै रहेको तर राहदानीमा प्रयोग गरेका कागजात र विवरण शंकास्पद देखिएको छ ।

लामिछानेको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १२ : ४१ बजे