दलित आयोगले गर्‍यो मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

​​​​​​​काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । 

आयोगले धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानुन विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै कारबाही गर्न मन्त्रालयलाई सिफारिस गरेको हो ।

आयोगले धरान उपमहानगरपालिकाका साम्पाङ राईले आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्तिप्रति चासो प्रकट गरेको जनाएको छ ।

आयोगले सार्वभौम जनताको प्रतिनिधिप्रति सम्मान स्वरूप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न प्रेस विज्ञप्तिमार्फत गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानुनभन्दा आफूमाथि रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा साम्पाङलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको जनाएको छ ।

“धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले मङ्सिर २७ गते मङ्गलवार आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्तिप्रति आयोगले चासो प्रकट गरेको र सार्वभौम जनताको प्रतिनिधिप्रति सम्मान स्वरूप अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न प्रेस विज्ञप्तिमार्फत मङ्सिर २८ मा गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानुनभन्दा आफूमाथि रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा निजलाई कानुन बमोजिम आवश्यक कारबाहीको लागि सिफारिस गरिएको ब्यहोरा अनुरोध छ ।” आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा गरिएको सिफारिस पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख साम्पाङले सुरुमा चमारे बुद्धि भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै आयोगले एक विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

यसअघिनै संयुक्त वक्तव्य जारी गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित सङ्घ, नेपाल दलित मुक्ति सङ्गठन, राप्रपा निकट उत्पीडित सङ्गठनलगायतका सङ्घ सङ्गठनले मेयर साम्पाङमाथि कारबाहीको माग गरेका थिए ।

प्रमुख  साम्पाङ आफ्नै अभिव्यक्ति र गतिविधिका कारण अनेक विवादमा तानिँदै आउनुभएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : २३ बजे