‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महापुरूषले मनायो ५१औँ दिन : पहिलो ‘कार्बन तटस्थ’ नेपाली फिल्म घोषणा

काठमाडौं । ​​​​​​​निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । 

मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलको केएलटावरमा रहेको एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१औँ दिन पूरा भएको छ । फिल्मले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्नसमेत सफल भएको छ ।

५१औँ दिन पुगेको अवसरमा फिल्म युनिटले केक काट्दै सेलिब्रेसन गरेको छ । केही समय यता अमेरिका भ्रमणमा रहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा टिमले केक काट्दै पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको बारेमा जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले कार्बन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण वातावरणीय अध्याय थालेको विषयमा प्रस्ट्याइयो । 

फिल्म निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड–पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ । ग्रिनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो । यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताउनुभयाे । बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उहाँले प्रस्तुत गर्नुभयाे ।

उहाँका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएको थियो । जसमा फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस चार हजार किमी गुडेको र यसबाट तीन टन कार्वन उत्सर्जन हुनबाट जोगिएको उहाँले उल्लेख गर्नुभयाे । ६ टनभन्दा बढी कार्वन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि फिल्म निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गर्नुभएकाे छ । अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भइरहेको जनाउनुभयाे ।

निर्माता म्याक्स दिपेश खत्रीले अन्य फिल्मले पनि कार्वन उत्सर्जन घटाउने ढंगले काम गर्नुपर्ने बताउनुभयाे । कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले अन्य फिल्म निर्मातालाई पनि प्रेरित गर्न आफूहरू कार्वन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताउनुभयाे । व्यक्तिगत रूपमा पनि आफूहरू कार्वन तटस्थ बन्ने प्रयासमा रहेको उनले सुनाउनुभयाे । 

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सफलतासँगै दायित्व थपिएको बताउनुभयाे । ‘मसँगै फिल्मकर्मीलाई सामाजिक संदेश भन्न समेत उर्जा मिलेको छ । यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१ औँ दिन पुरा गरेको छ’, निर्देशक भट्टराईले भन्नुभयाे । भट्टराईको डेब्यु फिल्म जात्रासँगै शत्रु गते र जात्रै जात्राले समेत ५१औँ दिन पार गरेको थियो । उहाँ लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बन्नुभएकाे छ  ।

नेपालसँगै अमेरिका, अस्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म गत १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : १० बजे