दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । 

भौगोलिक रूपमा विकट र दुर्गम पहाडको खोँच र पाखोमा छरिएका जहाजका पाट पुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाट पुर्जा र सामान सङ्कलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिनुभयो । 

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्रा टुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । “दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो”, उहाँले भन्नुभयो, “विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान सङ्कलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।”

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यति बेलामै फेला परेको थियो । शेरचनको नेतृत्वमा विसं २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाट पुर्जा सङ्कलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाट पुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् ।

बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाट पुर्जा र सबै सामान सङ्कलन गर्ने गरिन्छ । 

मङ्सिर पहिलो साता तारा एयरको टोलीले जहाज दुर्घटना स्थलको हेलिकोप्टरबाट अवलोकन गरेका थिए । रासस

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ५६ बजे