भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृत रूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेस गर्न समिति गठन गरिएको छ ।

मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानुन तर्जुमा समिति गठन गरिएको हो ।

मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले पाँच सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितिमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक पीताम्बर घिमिरे, मन्त्रालयका सहसचिव जनकराज जोशी सदस्य रहनुभएको छ ।

समितिमा मन्त्रालयको भूमि व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पद्मनिधि सोती सदस्यसचिव रहनुभएको छ । समितिले मङ्सिर १३ गतेदेखि काम सुरु गरेको हो ।

देवानी संहिता, उद्योग, पर्यटनलगायत कानुनमा रहेको भूमिसम्बन्धी व्यवस्थालाई एकीकृत गरी संशोधनको प्रस्ताव तयार गर्न लागिएको समितिका सदस्यसचिव सोतीले जानकारी दिनुभयो ।

अध्ययनका क्रममा ६० भन्दा बढी कानुनमा भूमिसम्बन्धी केही न केही व्यवस्था गरिएको समितिले फेला पारेको छ । ती सबैलाई एकीकृत गरी संशोधन गर्ने गरी प्रस्ताव तयार गरिँदै छ ।

विसं २०५२ देखि नै स्थानीय सरकारले मालपोत उठाउन थाले पनि त्यसलाई समेत अझै कानुनमा संशोधन गरिएको छैन । त्यो संशोधन पनि यसै पटक हुने भएको छ ।

सरकारले जग्गा सम्बन्धमा गरेका निर्णय र परिपत्रलाई पनि एकीकृत मस्यौदामा समावेश गरिँदै छ ।

संशोधन प्रस्तावसम्बन्धी प्रतिवेदन पुस दोस्रो साता मन्त्रीसमक्ष बुझाउने तयारी भएको सदस्यसचिव सोतीले बताउनुभयो ।

भूमि बैङ्क, भूमि बजार, भू–उपयोग, जग्गा प्राप्तिसम्बन्धी व्यवस्थालाई पनि यही मस्यौदामा पार्न लागिएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : १९ बजे