रवि लामिछानेको आजको बयान सकियो

सिन्धुपाल्चोकमा महिला भलिबल प्रतियोगिता सुरु

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ ।

प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको सहभागिता रहेको उपाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । महिलालाई खेल क्षेत्रमा अघि बढाउन पालिकाले सदैव सहयोग गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एक सय ११, दोस्रोले ६५ हजार एक सय ११, तेस्रोले ३५ हजार एक सय ११ र सान्त्वनाले रु २५ हजार एक सय ११ प्राप्त गर्ने आयोजकले जनाएको  छ ।  प्रतियोगिता भोलिसम्म चल्ने खेलाडी श्याम शर्मा एलसीले जानकारी दिनुभयो ।

६ सय ७५ विद्यार्थीलाई स्टेसनरी सामग्री 

हेलम्बु  एजुकेसन एन्ड लाइभलिहुड पार्टनरर्र्शिप  (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल  गाउँपालिका–५ गुन्साका सातकन्यामती मावि र कुम्भेश्वरी आधरभूत  विद्यालयका ६ सय ७५ विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य सामग्री र टोपी सहितको झोला वितरण गरिएको छ । 

सिन्धुपाल्चोकका पूर्वजिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम,  हेल्पका अध्यक्ष जिमी लामा, वडा नं ५ का अध्यक्ष काले गोले, सातकन्यामती माविका प्रअ प्रेम तामाङ लगायतले उक्त सामग्री वितरण गर्दै उक्त सामग्रीको  सदुपयोग गर्न आग्रह गर्नुभयो । हेल्पले १० वर्षअघि ‘स्कुल इन अ ब्याग’ सुरु गरेको र हालसम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामग्री वितरण गरेको अध्यक्ष लामाले बताउनुभयो । हेल्पले जिल्लामा मेलम्ची, त्रिपुरासुन्दरी र पाँचपोखरीमा  २७ जना साथी शिक्षक  पनि  सहयोग गरेको लामाले बताउनुभयो । सातकन्यामती माविका अध्यक्ष कालिका र कुम्भेश्वरी आधरभूत  विद्यालयका प्रधानाध्यापक देवी पौडेलले सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा गौतमले स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताउनुभयो । विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यी सामग्री वितरण गरिएको हेल्पले जनाएको छ । संस्थाले शिक्षामा शिक्षक, सामग्री सहयोग, भवन निर्माण, तालिमलगायत सहयोग गर्दै आएको छ ।  त्यस्तै कोरोना, बाढी, भूकम्प जस्ता प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : २८ बजे