सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप सेमिफाइनल : आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

दोहा ।  कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया आमनेसामने हुँदैछन्। चार वर्षअघिको फाइनलिस्ट क्रोएसिया फेरि एक पटक फाइनल यात्रा तय गर्न चाहन्छ। ज्लाट्को डालिचको टिम चार वर्षअघि रुसको लुजनिकी रंगशालामा फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। फ्रान्स यसपाली पनि अन्तिम चारमा पुगिसकेको छ। बुधबार राति मोरक्कोसँग फाइनल प्रवेशका लागि खेल्ने तयारी गरिरहेको छ।

विश्वकप सुरु हुनुअघि क्रोएसियालाई दाबेदारको रूपमा हेरिएको थिएन। समूह चरणमा पनि प्रभावशाली प्रदर्शन गर्न नसकेको क्रोएसिया प्रतियोगिता अगाडि बढ्दै जाँदा सुधारोन्मुख बन्दै आइरहेको छ। अन्तिम क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विजेता ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसियाले तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएसँगै बलियो दाबेदारी प्रस्तुत गरेको छ।

अहिले क्रोएसिया र फाइनलबीच लियोनेल मेसीको अर्जेन्टिना उभिएको छ। जारी विश्वकपको दावेदार मानिएको दक्षिण अमेरिकी टोलीलाई पराजित गर्न सके मात्रै लुका मोड्रिचको टिमले फाइनलमा स्थान बनाउने छ। अर्जेन्टिनालाई हराउन सके दक्षिण अमेरिकी दुई महारथिलाई लगातार विश्वकपबाट बाहिर निकाल्ने १२ वर्षमा पहिलो युरोपियन टिम क्रोएसिया बन्नेछ। यसअघि सन् २०१४ मा जर्मनीले सेमिफाइनलमा ब्राजिल र फाइनलमा अर्जेन्टिनालाई पाखा लगाएको थियो। प्रिक्वार्टरफाइनलमा ब्राजिलका प्रमुख अट्याकर राफिन्हा र एन्टोनीलाई चुप राखेका क्रोएसियन लेफ्ट ब्याक बोर्ना सोसा आफ्नो टिम अगाडि जानेमा विश्वस्त छन्। 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ८ : ४५ बजे