सर्वसाधारणको सम्पति हड्प्ने लघुवित्तिय संस्था खारेजीको माग

धनगढी – राष्ट्र बैङ्कको निर्देशन विपरीत नाफामा केन्द्रित भएर कम्पनी चलाई सर्वसाधारणको सम्पत्ति हडप्ने गरेको भन्दै धनगढीमा लघुवित्तिय संस्था खारेजीको मागसहित प्रदर्शन गरिएको छ ।

राष्ट्र बैङ्कको निर्देशिका अनुसार लघुवित्तिय संस्थाले वित्तीय साक्षरता सञ्चालन गर्ने, व्यवसायीक तालिम सञ्चालन गर्ने र व्यवसायीक बिमा गर्ने उल्लेख रहेकोमा लघु वित्तीय संस्थाहरूले नाफामूलक क्षेत्रमा ऋण लागी गरेर चर्को व्याज मात्रै असुल्ने गरेको भन्दै आन्दोलन गरिएको हो ।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले व्यक्ति केन्द्रित भएर लघुवित्तिय संस्थाले ऋण लगानी गरी चर्को व्याज असुल्ने गरेको बताए ।

‘निर्देशिकाको उल्लङ्घन गर्दै लघुवित्तिय संस्थाहरूले चर्को व्याजमा ऋण लगाउने र एउटा किस्ता तिर्न नसके सम्पत्ति हडप्ने गरेका छन्,’ अध्यक्ष ज्ञवालीले भने, ‘जसका कारण नेपालमा हजारौँ महिलाले आत्महत्या गरिसकेका छन्, यस्ता संस्था खारेज हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’

उनले एउटा किस्ता तिर्न नसकेको खण्डमा चक्रवति ब्याज लगाएर ऋणीलाई आत्महत्या गर्न बाध्य बनाउने गरेको बताए । ‘एउटा किस्ता मात्रै छुटेमा चक्रवति ब्याज लगाउने र ऋणीलाई मानसिक रोगी बनाउने काम लघु वित्तीय संस्थाहरूले गरिरहेका छन्,’ उनले भने, ‘किस्ता नतिरे घरमा भएको जायजेथा, कुखुरा, गाई भैँसी समेत तानेर लग्ने गरेका छन्, यो नागरिकको बाँचन पाउने अधिकार विरुद्ध हो, त्यसैले लघु वित्तीय संस्था बन्द नगरिए सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’

विगत १० महिनादेखि लघुवित्तिय संस्थाबाट समस्यामा परेका नागरिकले सङ्घर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । अध्यक्ष ज्ञवालीका अनुसार यसबीचमा नेपाल सरकार अर्थ मन्त्रालयका सचिवसँग एक पटक र राष्ट्र बैङ्कका गभर्नर सँग दुई पटक छलफल भए पनि उनीहरूले सामान्य सुधारका विषय बाहेक आर्थिक शोषणमा परेका नागरिकका बारेमा छलफल गर्न मानेका छैनन् ।

लघु वित्तीय संस्थाको दादागिरीका कारण कैलालीमा मात्रै १२ जना र सुदूरपश्चिम प्रदेश भरमा तीन सय जना भन्दा बढी महिलाले आत्महत्या गर्नुपरेको सङ्घर्ष समितिका सुदूरपश्चिम प्रदेश अध्यक्ष मणि चौलागाईले बताए ।

‘अहिले लघु वित्तीय संस्थाको मानिस घरमा आउन लागेको देखिएमा घर छोडेर भाग्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘कम्पनीलाई फाइदा हुने र नागरिक घरबारविहीन हुने कुराको हामीले विरोध गराका हौँ, यो मुद्दा सुनुवाइ हुनुपर्छ ।’

सङ्घर्ष समितिले काठमाण्डौं, चितवन, बुटवलहुँदै कैलालीको फूलबारी चौमाला, घोडाघोडीमा कार्यक्रम गरेर आइतबार धनगढीमा विरोध र्‍यालीसहित कोणसभा गरेको हो ।
प्रदेश अध्यक्ष चौलागाईका अनुसार लघु वित्तीय संस्थाका कारण सुदूरपश्चिममा ६ सय जना घरबारविहीन भएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ०९ बजे