सुनको मूल्यमा नयाँ कीर्तिमान

काभ्रेमा रेबिज : नियन्त्रण गर्न खोप अभियान

काभ्रेपलाञ्चोक ।  काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ ।

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिंह विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजी कार्य भइरहेको छ भने पशु चौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ । उहाँका अनुसार हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको छ । 

वडा नं १ का ४० र ८ का ३० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाइएको हो । प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन चार सय भाइल खोप पुगेको शाखा  प्रमुख विष्टले बताउनुभयो । 

रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हर सम्भव प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैबीच रेबिज सङ्क्रमण नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँसहितको एक टोली महाभारतको रेबिज प्रभावित क्षेत्र पुगेको छ । 

उहाँले रेबिज फैलावटका विषयमा सूक्ष्म ढङ्गले अध्ययन गरिने बताउनुभयो । उहाँका अनुसार रेबिज प्रभावित क्षेत्रमा हप्ताअघि नै एक सय ६० डोज खोप उपलब्ध गराइएको थियो । 

उहाँका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ । “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्ण रूपमा सुरक्षित भइन्छ”, कार्यालय प्रमुख डा सेढाईँले भन्नुभयो ।

महाभारतमा अघिल्लो हप्ता मरेका दुई गाईका केही अङ्ग गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिवार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन छुटेका स्थानीयवासीलाई प्रेरित गरिरहेका छौँ”, सेढाईँले भन्नुभयो । स्थानीयवासीको अनुसार मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ ।

काभ्रेमा तीन महिनापछि महाभारतमा रेबिज रोग फेला परेको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । 

कार्यालयले त्यति बेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो । 

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट विसं २०७७ चैतयता काभ्रेका छ जनाको मृत्यु भएको छ । दुई वर्षअघिदेखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । 

घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रेबिज लागेको कुकुर तथा अन्य जनावरले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । 

चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्याङ्कले देखाएको छ । विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : १५ बजे