ग्लोबल आइएमई बैङ्कले अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने

काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमान्डु लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैङ्कको १६औँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

साधारण सभाले ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमान्डु लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा  सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको हो ।

गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एक रहने गरी स्वीकृत गरेको छ । साधारण सभाले बैकको अधिकृत पुँजी रु २५ अर्बलाई वृद्धि गरी रु ५० अर्ब पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारण सभामा बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नाका साथै आर्थिक वर्ष २०७८÷७९ को कूल मुनाफाबाट बैङ्कले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव छ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा रु सात  अर्ब १८ करोड र कर पछिको मुनाफा रु चार  अर्ब ९५ करोड आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैङ्कको चुक्ता पुँजी रु २४ अर्ब ५० करोड पुग्नेछ ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैङ्कका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैङ्क नेपाल सरकार एवं नेपाल राष्ट्र बैङ्कद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो । उहाँले बैङ्कले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउनुभयो ।

आव २०७८/७९ मा बैङ्कको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा रु एक अर्ब १५ करोडले वृद्धि भएको छ । बैङ्कको खुद मुनाफामा गत वर्षको तुलनामा १२ दशमलव पाँच नौ प्रतिशतले वृद्धि भई रु चार अर्ब ९५ करोड कायम भएको छ । हाल बैङ्कले रु दुई खर्ब ८९ अर्बभन्दा बढी निक्षेप सङ्कलन गर्नाका साथै दुई खर्ब ७३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।  बैङ्कले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । 

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ०९ बजे