मनसुन क्रमशः क्षीण हुँदै

मानवअधिकारको संरक्षण‚ संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति नेपाल सदैव प्रतिबद्ध : राष्ट्रपति

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७४‌औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले मानवअधिकार र लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरू कुनै भूगोल विशेषमा मात्र सीमित नभई विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको बताउनुभयो ।

उहाँले मानवअधिकारको विश्वव्यापी घोषणापत्रका आधारमा मानवीय मूल्यहरूको विकास भई न्यायपूर्ण‚ स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धामा आधारित सामाजिक प्रणालीभित्र हरेक व्यक्तिले आफ्ना लागि अवसर र उन्नतिको बाटो तय गर्न सक्दछ भन्नुभयो । 

नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू मानवअधिकारका व्यापकतम अवधारणामा आधारित  छन् भन्नुहुँदै राष्ट्रपति भण्डारीले मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषयहरूलाई नेपालको संविधानले अझ विस्तार र विकास गर्न योगदान गरेको बताउनुभयो । 

उहाँले नेपाल  मानवअधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र समेत भएकाले मानवअधिकारको संरक्षण‚ संवर्द्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध रहिआएको भन्नुहुँदै यसैको फलस्वरूप नेपाल संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका रूपमा समेत निर्वाचित भएको बताउनुभयो  । 

राष्ट्रपति भण्डारीले संवैधानिक उत्तरदायित्व एवं विश्व समुदायको सम्मानित राष्ट्रका रूपमा मानवअधिकारसम्बन्धी दायित्व निर्वाह गर्न संविधानले व्यवस्था गरेका राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न विषयगत संवैधानिक आयोगहरू समेत नेपालमा क्रियाशील रहेको बताउनुभयो ।

उहाँले संविधान प्रदत्त अधिकारहरूको उपभोग र कर्तव्यहरूको पालनाका लागि राज्यका निकायहरूको भूमिका मात्र पर्याप्त हुँदैन भन्नुहुँदै यसका लागि समाजका हरेक क्षेत्र र पक्षहरू जिम्मेवार र जबाफदेही हुन आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घसंस्थाहरू तथा निजी क्षेत्रको सामूहिक सक्रियताबाट सीमान्तकृत र बन्चितीकरणमा परेका भूगोल तथा समुदायहरूलाई मानवअधिकारको प्रत्याभूति गराउन सकेमा मात्र आजको अन्तर्राष्ट्रिय मानवअधिकार दिवसले सार्थकता पाउने बताउनुभयो   ।

उहाँले व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक‚ सामाजिक तथा सांस्कृतिक अधिकार भएको बताउनुहुँदै आजको विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेको सन्दर्भमा नेपालले पनि संविधानको मार्गदर्शनमा आर्थिक‚ सामाजिक तथा सांस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभयो । 

संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । 

यस वर्ष “सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय” भन्ने मूल विषयसहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस  मनाइँदै छ । 

 

 

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : २८ बजे