सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले प्रधानन्यायाधीश  जबरालाई बुधवार महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र दिनुभएपछि उहाँले आफू सर्वोच्च फर्किन लागेको जानकारी दिनुभएको थियो । जसकारण सर्वोच्च परिसरमा तनावको स्थिति उत्पन्न भएको छ ।

बुधवार दिनभरजसो सर्वोच्च परिसरमा कानुन व्यवसायी आन्दोलित बनेका थिए । नेपाल बार एसोसियसनले विरोध जनाएको छ । 

सङ्घीय संसद् सचिवालयको पत्रबारे सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । आज उक्त रिटमा सुनुवाइ हुँदै छ । सोही कारण सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो । 

सर्वोच्चभित्र र बाहिर उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्चभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । 

आगन्तकुहरुलाई प्रहरीले उनीहरूको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । 

नेपाल बारको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरू तैनाथ छन् ।

 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ४८ बजे