प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्रमाथिको रिटमा आज सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद् सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सुनुवाइ हुने भएको छ । 

प्रधानन्यायाधीश जबरा, सङ्घीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।

जबराको आचरणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरूले उहाँ विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधवार मात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाउनुभएको थियो ।

जबराविरुद्ध २०७८ १ फागुन गते महाभियोग प्रस्ताव दर्ता भएको हो । उहाँ २७ मङ्सिरमा उमेर हदका कारण अवकाश पाउँदै हुनुहुन्छ । 

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ०८ बजे