धरहराबाट उपत्यका नियाल्ने रहर

प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । 

प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको सो अवसरमा जानकारी गराइयो ।

क्लिनिकबाट प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थालिएको छ । 

मञ्च र आइपास नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव रोशनीदेवी कार्कीले प्रजनन स्वास्थ्य अधिकारलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो ।

एक द्वार सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति प्रतीक्षा नेपालले हिंसाबाट पीडित भएकाका लागि उपचार गर्न केन्द्रको सुरुआत गरिएको बताउनुभयो । हाल ७७ जिल्लाका ९४ स्थानका सरकारी अस्पतालबाट यो सेवा दिइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिपा लामाले प्रजनन स्वास्थ्यसम्बन्धी हिंसालाई पनि लैङ्गिक हिंसामा राखिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा मञ्चका अधिवक्ता नवीनकुमार श्रेष्ठ, आइपासका माधवी बज्राचार्यलगायतले संविधानमा उल्लेख गरिएको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक काम गरिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ५९ बजे