सुनको मूल्यमा नयाँ कीर्तिमान

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए ।

त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । 

विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

निर्धारित मितिमा निर्वाचन हुन्छ : त्रिवि

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए । ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहँुदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ’, उनले भने, ‘त्यसैले हामी निर्धारित मिति फागुन १४ गते निर्वाचन गर्न आतुर छौं ।’

निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए । उनका अनुसार विसं २०१९ बाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो । विसं २०३६ बाट स्ववियु निर्वाचन व्यवस्थित रुपमा प्रत्येक दुईरदुई वर्षमा हुँदै आएको छ

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ५ : ४० बजे