साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

भरतपुर । कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाउँपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । 

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाउनुभएको छैन । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उहाँले भन्नुभयो”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट वञ्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउनुहुन्छ । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन”, उहाँले भन्नुभयो । 

इच्छाकामना गाउँपालिका–१ को चौकी डाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताउनुभयो । “मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उहाँले भन्नुभयो”, “भएको ठाउँमा पनि नेटवर्क समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।” उहाँले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताउनुभयो । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ ।

 नेटवर्कको समस्या समाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । “यसै त भौगोलिक रूपमा पछि परेको ठाउँ हो हाम्रो, वडाध्यक्ष मगरले भन्नुभयो”, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”

इच्छाकामना–१ चौकीडाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाउँबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताउनुभयो । उहाँले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गर्नुभयो । उहाँले नेट इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रूपमा फोन गर्न पाए पनि खुसी हुने बताउनुभयो । “अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पुर्‍याउन पाइँदैन, उहाँले भन्नुभयो”, “लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।”

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।” उहाँले गाउँबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर समेत टेलिकममा बुझाइएको बताउनुभयो । नेटवर्कको समस्याका कारण स्कुलमा वाइफाइ जडान गर्न सकिएको छैन । “गाउँपालिकाले वाइफाइ जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नु¥यो”, उहाँले गुनासो गर्नुभयो ।

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाउँपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताउनुभयो । उहाँले कार्यालयले पनि नेटवर्क नभएको ठाउँमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाउँलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिनुभयो । उहाँले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताउनुभयो । उहाँले वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिनुभयो । यस्तै वडा नम्बर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताउनुभयो  । पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उहाँले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताउनुभयो ।रासस

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ८ : २९ बजे