भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ ।
फुटपाथ अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो ।
सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् ।
‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भन्नुभयो, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणमा लिने गरेका छौँ ।’
विशेष गरी व्यवसायीले बजार क्षेत्रको सडक फुटपाथ अतिक्रमण गरेका छन् । नगर प्रहरीले अतिक्रमण गरेर राखिएको सामग्री नगरपालिकाको कार्यालय ल्याउने गरेका छन् ।
नगरपालिकाको कार्यालयमा आएको सामग्री व्यवसायीले लिन आएको खण्डमा व्यवसाय दर्ता, बहाल कर, व्यवसाय नवीकरण गरे÷नगरेको समेत पहिचान गर्ने गरिएको छ ।
‘नियन्त्रणमा लिएको सामग्री व्यवसायीले लिन आएको अवस्थामा सम्बन्धित व्यवसायको कागजी विवरण समेत क्रस चेक गर्ने गरेका छौँ,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भन्नुभयो, ‘यदि कैफियत देखिएको अवस्थामा कानुन बमोजिम प्रक्रियामा लग्ने गरेका छौँ ।’ उहाँले थप्नुभयो – ‘सडक फुटपाथ अतिक्रमण हटाउने अभियानले सर्वसाधारणलाई सहज पनि भएको र राजश्व नबुझाएको व्यवसायीले राजश्व समेत बुझाउने थालेका छन् ।’
व्यवसाय सम्बन्धी सबै कागजपत्र दुरुस्त भएको अवस्थामा अतिक्रमण गरेर राखिएको सामग्री नियन्त्रणको हकमा पहिलो पटकको लागि सचेत गराएर सामग्री दिने गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत तीन दिनमा करिब ६० हजार रुपैयाँ राजश्व समेत सङ्कलन भएको छ ।
प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार ७ : ०९ बजे
प्रतिक्रिया