हालै सम्पन्न निर्वाचनमा मूलधारका राजनीतिक पार्टीहरूलाई कमजोर पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले अप्रत्याशित स्थानहरूमा विजय हासिल गरेका छन् । त्यति मात्र होइन, उनीहरूको पार्टीमा मत जानुका कारण कतिपय स्थानमा एउटा पार्टीले जित्ने अनुमान र विश्वास गरिएका क्षेत्रमा अर्कोले जितेको पनि छ । त्यसैगरी, कमजोर भइसकेको परम्परावादी शक्ति राप्रपाले सहरी इलाकाहरूमा वर्चस्व बिस्तार गरेको छ । यस्तो प्रवृत्ति ग्रामीण इलाकाहरूको तुलनामा सहरी वा सहरोन्मुख इलाकाहरूमा बढी मात्रामा देखिएको छ । राजनीतिक वृत्तमा यसको कारणको खोजी भइरहेको छ, विभिन्न किसिमबाट यसको चर्चा र कारणहरूबारे अनुमान भइरहेका छन् । यसै सन्दर्भमा उपरोक्त चुनावी परिणामको मानव शास्त्रीय दृष्टिबाट राजनीतिक विश्लेषण गर्ने अभिप्रायले यो लेख तयार गरिएको हो ।
१. नेपाल कम्युनिस्ट पार्टीको विघटन र नेकपा (एमाले) विभाजनको असर
करिब पाँच वर्ष पहिले परिपक्व प्रक्रिया पूरा नगरीकनै भए पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच एकता गरेर नेपाल कम्युनिष्ट पार्टीको गठन गरिएको थियो । यद्यपि, उक्त एकता प्रक्रियामा धेरै कमीहरू पनि थिए, एकताको आधार तयार नभईकनै एकता गरिँदा विचार, सङ्गठन र नेतृत्वको समुचित व्यवस्थापन हुन सकेको थिएन ।
जसरी आमाको गर्भबाट बच्चा पैदा हुन सामान्यतया नौ महिना समय पार गर्नुपर्छ, असारमा रोपेको धान पाक्न असोज वा कार्तिक कुर्नुपर्छ, त्यसरी कम्युनिष्ट नै सही तर चार दशकदेखि फरक संस्कृतिबाट विकसित दुई वटा पार्टीहरू बिचको एकताका निम्ति पनि निश्चित प्रक्रिया पार गरेर विचार, सङ्गठन र नेतृत्वको विषयमा प्रष्टता हुनु आवश्यक थियो । मनोगत आकाङ्क्षाका कारण हठात् गरिएको एकताको परिणाम जे हुन सक्थ्यो त्यही भयो । एकताको प्रक्रिया नै सम्पन्न नभई तीन वर्ष नपुग्दै नेकपा विघटन भयो । यसको परिणाम स्वरूप हुँदोखाँदोको दक्षिण एसियाकै सबै भदा व्यवस्थित पार्टी नेकपा (एमाले) समेत विभाजित हुन पुग्यो । सङ्ख्यात्मक रूपमा विभाजनको पक्षमा सिङ्गो पङ्क्तिको दशांश पनि लागेको होइन, तर यसको सामाजिक र मनोवैज्ञानिक असर भने निकै नै पर्न गयो । पार्टी पङ्क्त्मिा भन्दा पनि यसको असर आम जनसमुदायमा बढी देखियो । नेकपा (एमाले) सामान्य एउटा पार्टी मात्रै नभएर यो लामो आन्दोलनबाट विकसित र जनताको आशाको केन्द्र बनिसकेको पार्टी हुनुको कारण यसको विभाजन हुँदा त्यस्तो हुनु स्वाभाविकै हो । अर्कातर्फ, विभाजित समूहमा पटक—पटक र लामो समयसम्म नेतृत्वमा बसेका नेताहरू स्वयं लाग्नुको कारण पार्टीप्रति जनआकर्षण बढ्न सकेन बरु कम भयो ।
नेकपा (एमाले)को विभाजन हुनुको कारण नेपालको राजनीतिमा ठुलो उतार—चढाव आयो । यस पार्टीले लिएको समृद्धिको यात्रामा अवरोध पैदा भयो, यसले देखेका र यसको नेतृत्वले देखाएका सपनाहरू बिपनामा परिणत हुन नपाउँदै सरकार विघटित भयो र जनतामा एमाले प्रतिको विश्वास घट्न पुग्यो ।
सहरी जनताले एमालेको विकल्प खोजे । नेकपा (एमाले) ले विजय प्राप्त गर्न सक्ने स्थानहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थान लियो वा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ नेकपा (एमाले)को भोट डाइभर्ट हुँदा थुप्रै स्थानहरूमा नेपाली काङ्ग्रेस वा सत्ता गठबन्धनले चुनाव जित्न पुग्यो ।
संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीको प्रतिरोध गर्दा निर्मित नेतृत्वको लोकप्रियता र नेकपा एमालेले लिएका नीतिहरूका कारण जनतामा यस पार्टीको गहिरो प्रभाव परेको थियो । संविधान निर्माणपछि पहिलो पटक सम्पन्न निर्वाचनमा नेकपा एमाले एक्लै चुनावमा गएको भए यसले बहुमत ल्याउन सक्ने बलियो आधार थियो तर माओवादी केन्द्रसँग गठबन्धन गर्दा यसले आफ्नो ठुलो हिस्सा माओवादी केन्द्रलाई दिएको थियो । माओवादी केन्द्रले प्रत्यक्षमा आफ्नो हैसियतभन्दा दुई गुणा बढी सिटहरू जित्यो तर नेकपा (एमाले)ले आफ्नो शक्ति गुमाएको थियो । यस पटक विभाजनको कारण नेकपा एमाले जनतामा विश्वास घटेको थियो । यसको कारण विशेषतः सहरी जनताले एमालेको विकल्प खोजे । नेकपा (एमाले)ले विजय प्राप्त गर्न सक्ने स्थानहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्थान लियो वा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ नेकपा (एमाले)को भोट डाइभर्ट हुँदा थुप्रै स्थानहरूमा नेपाली काङ्ग्रेस वा सत्ता गठबन्धनले चुनाव जित्न पुग्यो ।
२. अप्राकृतिक गठबन्धन र यस प्रतिको असहमति
दोस्रो कुरा, नेकपा (एमाले)मात्र विभाजन भएन, नेकपा (एमाले)बाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) नामको पार्टी नेकपा (माओवादी केन्द्र) नामको पार्टी वामपन्थी पार्टी भएर पनि दक्षिणपन्थी गठबन्धन बनाउन अग्रसर भए । प्रगतिशील शक्तिलाई प्रतिगामी करार गरेर आफू यथास्थितिवादी शक्तिसँग गठबन्धन गर्न पुगे र सत्तासीन भए । तल ती दुई पार्टीका कार्यकर्ताहरू नेकपा (एमाले)लाई तदनुरूप आलोचना गर्न, विरोध गर्न हौसिए, यद्यपि ती दलहरूको हविगत झन् कमजोर भयो ।
त्यति मात्र होइन, यो सिद्धान्त विपरीत गरिएको गठबन्धन, अप्राकृतिक गठबन्धनको कारण विगत डेढ वर्षदेखि नेपालको राजनीतिमा अराजकता र अनुशासनहीनताका पराकाष्ठाहरू देखा परे । राजनीतिक परिवर्तनको लागि गठबन्धन हुनु स्वाभाविकै थियो, तर सत्ता स्वार्थको लागि गरिएको गठबन्धन जनताले रुचाएनन् । विशेषतः गठबन्धनप्रतिको जनअसहमति स्वतन्त्र पार्टी वा यस्तै अन्य नयाँ पार्टीहरू वा स्वतन्त्र व्यक्तिहरूका पक्षमा प्रकट भयो । उपरोक्त अनिष्टहरूका कारण एउटा तप्काको जनमत, विशेषतः परम्परावादी जनमत पुनरुत्थानवादी शक्ति राप्रपातिर पनि फर्कियो ।
३. राजनीतिक परिवर्तन अनुकूल आर्थिक रूपान्तरण नहुनु
संविधान संविधान निर्माणपश्चात् पहिलो चोटि सम्पन्न संसदीय निर्वाचन र प्रदेश सभाको ऐतिहासिक पहिलो निर्वाचनपश्चात् मुलुकमा आर्थिक रूपान्तरणको प्रक्रिया अगाडि नबढेको होइन तर यसबिच सन् २०१९को अन्त्य देखि सुरु भएको कोरोना भाइरस (कोभिड—१९)ले जनजीवन अस्तव्यस्त बन्न पुग्यो । यसको कारण नेपालको अर्थतन्त्र पनि प्रतिकूल बन्न पुग्यो । यसैबिच सरकार परिवर्तन भयो र नयाँ सरकार स्थापना भइसकेपछि उसले आर्थिक अनुशासनलाई कायम राख्न सकेन । यसरी राजनीतिक परिवर्तनहरू अनुकूलको आर्थिक रूपान्तरण सम्पन्न हुन नसक्नुको कारण परम्परावादी र पुनरुत्थानवादी शक्तिहरूले शिर उठाए ।
नेपालमा वामपन्थी शक्ति र बुर्जुवा शक्तिको सहकार्य मार्फत ठुला ठुला राजनीतिक परिवर्तनहरू भएका छन् । पछिल्लो राजनीतिक परिवर्तनले नेपालको गणतन्त्र मात्र स्थापित गरेन मुलुकको राज्य पुनर्संरचना मार्फत रूपान्तरणकारी कामहरू भएका छन् । यसरी, राज्य संरचनामा परिवर्तन त सम्भव भयो । राजनीतिक रूपमा भएका ती परिवर्तनहरूलाई आर्थिक–सामाजिक रूपान्तरणद्वारा परिवर्तनको अनुभूति जनतामा गराउनु पर्ने हुन्थ्यो र त्यसको लागि निश्चित समयावधि लाग्दथ्यो, त्यो पुरा नहुँदै सत्ता परिवर्तनको खेल सुरु भयो । जनतामा शान्ति र स्थिरताको आशा मार्ने काम भयो, त्यस कारण पनि पुनरुत्थानवादी शक्तिले शिर उठाए, फलतः परम्परावादी जनमत राप्रपातिर ढल्कियो ।संसद्मा राप्रपाको उपस्थिति त्यसैको उपज हो ।
राजनीतिक परिवर्तनको लागि गठबन्धन हुनु स्वाभाविकै थियो, तर सत्ता स्वार्थको लागि गरिएको गठबन्धन जनताले रुचाएनन् । विशेषतः गठबन्धनप्रतिको जनअसहमति स्वतन्त्र पार्टी वा यस्तै अन्य नयाँ पार्टीहरू वा स्वतन्त्र व्यक्तिहरूका पक्षमा प्रकट भयो ।
४. सहरिया मध्यम वर्गमा उत्पन्न उत्तर आधुनिकतावादी सोच र यसको असर
मुख्यतः काठमाडौँ बाहेकका केही सहरहरू र सहरोन्मुख इलाकाहरूमा बसोबास गर्ने मध्यम वर्गका मानिसहरूमा उत्तर आधुनिकतावादी सोच विकास भएको पाइन्छ । मार्क लिच्टिले काठमाडौँ सहरमा मध्यम वर्गीय युवाहरूमा हुर्किएको संस्कृतिको बारेमा अध्ययन गरेर भनेका छन् कि, आधुनिक सूचना प्रविधि, आधुनिक सामग्रीहरूको उपभोग, मनोरञ्जनका साधनहरू, अश्लील सामग्रीको उपभोग र क्रियाकलाप आदि मार्फत मध्यम वर्गको बिस्तार भएको व्याख्या गरेका छन् । साथै उनले, विभिन्न ग्रामीण इलाकाहरूबाट काठमाडौँ सहर पसेका निम्न वर्गका मानिसहरू समेत यो संस्कृतिको कारण मध्यम वर्गमा रूपान्तरित भइरहेको निष्कर्ष निकालेका छन् । एक वाक्यमा भन्नुपर्दा उत्तर आधुनिकता भनेको मौजुदा दर्शन, सिद्धान्त, वाद, विचार धाराको प्रतिकार हो । व्यवहारमा, उत्तर आधुनिकतावादीहरू कुनै दर्शन, सिद्धान्त, वाद, विचार धाराको अधीनमा नरहने, सामाजिक मूल्य—मान्यता र अनुशासनको परिधिलाई इन्कार गर्ने वा यिनलाई भत्काउने र बजारमा उपलब्ध वस्तुहरूको स्वच्छन्द उपभोग गर्ने संस्कृति हो । यो एक किसिमको स्वच्छन्द र अराजकतावादी विचार हो, हुर्कँदै गएको संस्कृति हो । हो, तिनै मध्यमवर्ग जो जसको सोच उत्तर आधुनिकतावादी बनिरहेको छ, उनीहरू नै आज बालेन वा रविको फ्यान भएर आएका छन् । उनले के खान्छन्, के लगाउँछन्, के बोल्छन्, के लेख्छन्, कस्तो व्यवहार गर्छन्, कस्तो संस्कृति विकास गर्दैछन्, संविधान र कानुनको सम्मान गर्छन् कि अपमान ? गहिरिएर हेरौँ त, ती उत्तर आधुनिकताका मसिहा होइनन् त ? त्यस जमातले सामाजिक असन्तुष्टिलाई पुँजीकृत गरी समाजलाई प्रभावित बनाएर आफ्नो अनुकूल प्रयोग गर्न सक्नु आजको चुनावी परिणामको मूल कारण हो ।
उपभोक्तावाद वा उत्तर आधुनिकतावादी सहरिया मध्यम वर्गमा विचार र दृष्टिकोणमा आधारित अनुशासनबद्ध राजनीतिक पार्टी नेकपा (एमाले)को प्रभाव नहुनु वा कम हुनु स्वाभाविकै हो । तर तिनीहरूबाट दिग्भ्रमित जनसमुदायलाई आफ्नो वरिपरि गोलबन्द गराउन नसक्नुचाहिँ कमजोरी हो ।
उत्तर आधुनिकतावादीहरू तुलनात्मक रूपमा बुर्जुवाहरूसँग निकट हुन्छन् । उदाहरणका रूपमा हेर्ने हो भने काठमाडौँ क्षेत्र नं ४, जहाँ गगन थापा उम्मेदवार थिए त्यहाँ स्वतन्त्र पार्टी वा स्वतन्त्र उम्मेदवारहरू सबैजसो गगन थापाको पक्षमा उभिए । नेपाली काङ्ग्रेस दलाल पुँजीपति वर्ग, धनी किसान, सहरिया उच्च र मध्यम वर्गमा आधारित बुर्जुवा पार्टी भएको कारण काठमाडौँमा तुलनात्मक रूपमा नेपाली काङ्ग्रेसको मत त्यसरी अन्यत्र मोडिएन ।
मार्क्सवादी दर्शनमा आधारित पार्टी नेकपा (एमाले)लाई सहरिया मध्यम वर्गले मतदान नगर्दा कि स्वतन्त्र पार्टी वा राप्रपाले जिते अथवा नेकपा (एमाले)लाई आइरहेको मध्यमवर्गको एउटा हिस्साको केही मत स्वतन्त्र पार्टी वा राप्रपातिर ढल्किन पुग्दा नेपाली काँग्रेसले विजय हासिल गर्यो, नेकपा (एमाले)ले पराजय बेहोर्यो । यस विषयमा थप विवेचना गर्न सकिने छ ।
५. विश्वव्यापीकरण र नवउदारवादको प्रतिरोध
विश्वव्यापीकरण र स्थानीयकरण दुई विपरीत तत्त्वहरू हुन् । विश्वव्यापीकरण आजको विषय होइन, तर विश्वव्यापीकरणले ल्याएका परिवर्तनहरूका कारण स्थानीयहरू असन्तुष्ट हुँदा विश्वव्यापीकरणको विपरीत स्थानीयकरणको प्रयत्न गरिन्छ । यस पटक विश्वव्यापीकरणको प्रतिरोध स्थानीयकरणले गर्ने क्रममा परम्परावादी र पुनरुत्थानवादी राष्ट्रिय प्रजातन्त्र पार्टीले तुलनात्मक रूपमा आफ्नो शक्ति बढ्ने गरी मत प्राप्त गर्यो । परम्परावादी राप्रपाप्रति विश्वव्यापीकरणको विरोधी जनमतले विश्वव्यापीकरणको प्रतिरोध स्वरूप मतदान गरे । राप्रपाको नीति परम्परावादी भएको हुनाले विश्वव्यापीकरण विरोधी भएको अनुभूति हुनु स्वाभाविकै हो ।
त्यसैगरी, नवउदारवादको अभ्यास कम्तीमा ४० वर्ष अगाडिदेखि हुँदै आएको छ । यसले नेपालको सन्दर्भमा पञ्चायत कालमै प्रवेश गरेर २०४६को परिवर्तनपश्चात् नेपाली काङ्ग्रेसको पहिलो सरकार गठन भएपछि मूल नीतिको स्थान ग्रहण ग¥यो । नवउदारवादका अभ्यासको सुरूआत पञ्चायती कालमै भएको भए पनि त्यतिखेर यो प्रभावशाली भइसकेको थिएन । नेपाली काङ्ग्रेसको नवउदारवादी नीतिको कारण देशका उद्योगधन्दा, कलकारखाना र राष्ट्रिय निगमहरू निजीकरण गरिएकोमा नेकपा (एमाले)ले विरोध गदै आएको हो । नवउदारवादको विरोधी जनमत नेकपा (एमाले)मा प्रकट हुने गर्दथ्यो । नवउदारवादका असरहरूबाट आजित जनमतले पञ्चायती कालको स्मरण गर्दै राप्रपालाई नवउदारवाद विरोधी सम्झन्छन् । नेकपा (एमाले) विभाजनको कारण यस पटक उक्त जनमत राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको छ । यस कारण पनि राप्रपाको मत बढेको छ ।
६. बाह्य शक्तिहरूको चलखेल
नेकपा (एमाले)ले आफूलाई देशको कम्युनिष्ट वामपन्थी र राष्ट्रवादी शक्तिको रूपमा स्थापित गरेको कारण यसलाई कमजोर पार्न पश्चिमा र दक्षिणी शक्तिहरूले आ–आफ्नो ढङ्गले चलखेल गरे । ती चलखेलमा विभिन्न पार्टी वा व्यक्तिहरूको प्रयोग भए । तिनै प्रयोगको कारण पनि मूलधारको देशभक्त राजनीतिक शक्ति नेकपा (एमाले)ले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन ।
(लेखक नेकपा एमालेका केद्रीय सदस्य एवं मानवशास्त्रका अनुसन्धानकर्ता हुनुहुन्छ ।)
प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १० : १७ बजे
प्रतिक्रिया