आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नयाँ संसद् नआउँदै निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश जबराको अवकाश हुँदै

काठमाडौँ । नयाँ संसद् नआउँदै निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अवकाश हुने भएको छ । 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट आउने प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश जबराको अवकाश हुने भएको हो । 

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको विवरण अनुसार हाल निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीश जबरा २०१४ साल मङ्सिर २८ गते जन्मिनुभएको हो । जसअनुसार उहाँ अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुँदै हुनुहुन्छ ।

अवकाश पाइसकेपछि उहाँमाथि संसद्मा दर्ता भएर टुङ्गो लागि नसकेको महाभियोग के हुन्छ भन्नेबारे अन्योल देखिएको छ । तर एक जना संविधानविद्ले प्रधानन्यायाधीशको हैसियतले उहाँले पाउनुपर्ने सेवा सुविधाको टुङ्गो लगाउनकै लागि पनि नयाँ संसद्ले महाभियोगबारे छिनोफानो गर्नुपर्ने बताउनुभएको बिबिसीले जनाएको छ । 

नयाँ निर्वाचन भएर आएको प्रतिनिधिसभाको बैठक सुरु हुन एक साताभन्दा बढी समय लाग्ने निर्वाचन आयोग र संसद् सचिवालयका अधिकारीहरूले बताएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यराज अर्यालले आयोगले २७–२८ गतेसम्म मात्रै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरिरहेको बताउनुभयो । 

आयोगले प्रतिवेदन पठाएपछि मात्रै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण हुने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आगामी संसद्ले महाभियोग अघि बढाउने वा नबढाउने विषयमा सचिवालयले केही भन्न नसक्ने बताउनुभयो ।

जबराविरुद्ध नेपाल बार एसोसिएसनले निरन्तर आन्दोलन गरेपछि गत फागुन १ गते ९८ जना सांसदले संसद्मा महाभियोगको प्रस्ताव दर्ता गराउनुभएको थियो ।  

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : ०८ बजे