वार्षिक १२ अर्बको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै 

 

काठमाडौँ । नेपालबाट वार्षिक रूपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । 

नेपाल हस्तकला महासङ्घअनुसारका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकलाका सामग्री निर्यात हुने गरेको हो  । 

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मंगलबार पत्रकार सम्मेलनमार्फत विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको बताउनुहुँदै देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । 

उहाँले स्वदेश तथा विदेश गरेर वार्षिक झन्डै रु २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको भन्नुहुँदै यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यातमा १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको आयोजना गरिएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

मेलाका संयोजक दिल्लीरत्न तुलाधरले नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध, विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थानमा भेला गराइ हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्य रहेको र मेलामा एक सय ३० व्यापारिक कक्ष राखिने जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा एउटै छातामुनी हस्तकला वस्तुको प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान, अग्रणी निर्यातकर्तालाई सम्मान गरिनेछ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको बताउँदै आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले सीप भएका कलाकारलाई राज्यले सम्मान गरे मात्र यो क्षेत्रले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो ।

यसै वर्ष हस्तकला महासङ्घले स्वर्ण जयन्तीसमेत मनाउन लागेको छ । 

स्वर्ण जयन्तीका अवसरमा महासङ्घले हस्तकलासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम, रक्तदान, वृक्षारोपण, ज्येष्ठ कलाकारलाई सम्मानलगायत कार्यक्रमको आयोजना गरेको अध्यक्ष शाक्यले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ०७ बजे