आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपाल संवत्को अध्ययन गर्न गठन गरेको कार्यदलले इस्वी संवत् लागू गर्नुपर्ने प्रतिवेदन बुझायो

काठमाडौँ – नेपाल संवत्को व्यावहारिक अध्ययन गर्न केही वर्षअघि सरकारले गठन गरेको कार्यदलले नेपालमा इस्वी संवत् लागू गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाएकामा आपत्ति जनाएको छ ।

     नेपाल प्रज्ञा प्रतिष्ठान संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजित ‘नेपाल संवत् न्हूँद’ विषयक विद्वत् गोष्ठीका वक्ताले नेपालका मौलिक संवत्लाई छोडेर विदेशी संवत् चलाउन प्रतिवेदन बुझाएर झारा टारेकाप्रति आपत्ति जनाएका हुन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत् समुदाय विशेषको नभइ सबै नेपालीको हो भन्नुभयो ।  

     “नेपाल संवत्को सुरुवात गर्ने शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई रु एक÷एक लाख राशिको पुरस्कार दिन कार्यविधि निर्माण भएको छ, यो पुरस्कार अब राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा प्रत्येक वर्ष प्रदान गरिनेछ”, मन्त्री श्रेष्ठले भन्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भेटिएको भनिएको साख्वासँग सम्बन्धित सामग्रीका बारेमा अध्ययन गर्न समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।  

    प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले जनताले देशका नाममा प्रवद्र्धन गरेको नेपाल संवत् राष्ट्रिय गौरवको विषय भएको बताउनुभयो । नेपाल संवत् र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गर्ने पात्रो (पञ्चाङ्ग) को गणित नमिलेकाले त्यसलाई मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांस्कृतिक गतिविधिमा अघि रहेको नेवार समुदायका अगुवालाई नेवारी संस्कृतिका विषयमा गोष्ठी गरौँ भन्दा सुनुवाई नभएको गुनासो निमित्त कुलपति गुरुङको थियो । राजधानी उपत्यकाका तीन सहरको सांस्कृतिक महत्व रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको संरक्षणमा यहीँको समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले कार्तिक शुक्ल प्रतिपदामा नेपाल संवत् मनाएर वर्षभर चुप लागेर बस्ने परम्परालाई तोड्दै यस विषयमा बहस चल्ने गरी कार्यक्रम आयोजना गरिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । ‘नेपाल संवत् ः सैद्धान्तिक आधार तथा व्यावहारिक पक्ष’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले ऋण तिर्न नसक्ने जनताको ऋण तिरिदिएर साख्वाले नेपाल संवत् चलाएको सुनाउनुभयो । 

     तत्कालीन राजा राघवदेवले पशुपतिनाथलाई समर्पण गरेर नेपाल संवत् चलाएको विषय विभिन्न वंशावलीमा लेखिएको उहाँले जानकारी उहाँले दिनुभयो । ‘शङ्खधर साख्वा र नेपाल संवत्’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति मरे देश मर्ने र जीवित जनता पनि मृतसरह हुने भएकाले संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा पूर्वमन्त्री तीर्थराम डङ्गोल, पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा डा हेमनाथ पौडेल, न्हूँद समारोह समितिका प्रा डा नरेशमान बज्राचार्यलगायतले मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : १४ बजे