सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल: फ्रान्स क्वाटरफाइनलमा

काठमाडौँ । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । 

कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३(१ गोल अन्तरले पराजित गर्‍यो । जीतसँगै साबिक विजेता फ्रान्स क्वाटर फाइनलमा पुग्ने तेस्रो टोली बन्यो । 

यसअघि हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटर फाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै क्वाटर फाइनमा प्रवेश गरेको हो । 

फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । 

त्यस्तै खेलको ७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो । 

खेलको दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत एक सान्त्वना गोल गर्‍यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोल लाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने उनले गोल गर्न सफल भए ।

विश्वकपमा फ्रान्स समूह डिको विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २३ बजे