आम निर्वाचन २०७९ सकियो । नतिजा अन्तिम अवस्थामा छ । प्राप्त नतिजामा केही जित्नै पर्नेले जितेका छन्, केही जित्नै नहुनेले पनि जितेका छन् । केही हार्नै नहुनेहरू हारे, केही हार्नै पर्नेहरू पनि जितेर आए ।
निर्वाचनबाट जसरी कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन त्यसैगरी मान्छेहरूमा आशा – निराशा, चुनौती–सम्भावनाका बारेमा चर्चा परिचर्चा पनि अलग अलग धारबाट चलिरहेको छ । कुन कुन पार्टीको गठबन्धन होला ? पुरानो गठबन्धन टुट्ला कि त्यही कायम रहला ? अबको सरकार कसले बनाउला ? सरकारको नेतृत्व कसले गर्ला ? राजनीतिमा चासो राख्ने हरेकको मस्तिष्कमा यही कुरा चलेको छ ।
२०७४ को निर्वाचनमा बहुमत नजिक पुगेको नेकपा (एमाले) यस पटक बहुमत ल्याउने घोषणा गरेको थियो । तर, पाँच दलीय गठबन्धन बनाएर एमाले सिद्धाउन र ९÷१० सिटमा सीमित गराउने रणनीति बनाएकाहरूसँग प्रतिस्पर्धा गरेर बहुमत हासिल गर्न एमालेलाई त्यति सहज थिएन ! र भएन पनि । ८० बाट ४४÷४५ सिटमा सीमित भयो । समानुपातिकतर्फ भने पहिलो पार्टी बन्यो । यो विरोधीहरूका लागि चुनौती नै हो ।
दुई तिहाइ बहुमत ल्याउने सपना देखेको पाँच दलीय गठबन्धनले झिनो बहुमत पनि ल्याउन सकेन । गठबन्धनको आड लिएर नेपाली काँग्रेसले राम्रै फाइदा लियो । ५५ सिट जितेर प्रत्यक्षतर्फ ठुलो पार्टी बन्न सफल भयो तर, समानुपातिकमा दोस्रो बन्यो ।
आफूले जित्नभन्दा पनि एमालेलाई हराउन उद्धत पार्टीहरू आफै उत्तानो परे । नेपाली काँग्रेसलाई ठुलो पार्टी बनाउने बाहेक गठबन्धनका अरू दलले खासै उपलब्धि हासिल गर्न सकेनन् । नेकपा माओवादी केन्द्र ३६ बाट १७ मा खुम्चियो । काँग्रेस र माओवादीको आडमा १० सिट हासिल गरेको नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) समानुपातिकतर्फ ३ लाख मत ल्याउन र राष्ट्रिय पार्टी समेत बन्न समेत मुस्किल परिरहेको छ । राष्ट्रिय पार्टी नबनेको खण्डमा जितेको १० सांसद पनि स्वतन्त्रको हैसियतमा पुग्नेछन् ।
विगतका दिनमा गठबन्धनमा रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टीले एमालेसँग टाँसिएर ७ सिटको जित हासिल गरेको छ भने महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धनसँग जोडिएर ४ सिट हात पारेको छ ।
यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राम्रै प्रगति गर्यो। एक सिटबाट सात सिट पुर्यायो । विगतका दिनमा परिवर्तनको अनुभूति गर्न नसकेका जनताले यस पटक केही नयाँ दल र नयाँ अनुहारलाई संसद्मा पुर्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको सेलिब्रेटीको आडमा यसपालि उल्लेख्य सफलता हासिल गरेको छ । प्रत्यक्षमा सात सिट र समानुपातिकतर्फ १४ सिट ल्याउने देखिएको छ । बिचार, सिद्धान्त र नीति बिनाको उक्त पार्टीका लागि आगामी दिन चुनौतीपूर्ण छन् ।
त्यस्तैगरी मधेसमा सिके राउतको जनमत पार्टीले १ सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । त्यस्तै कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि ३ सिट हासिल गरेको छ । पहिलो पटक राष्ट्रिय पार्टी बनेर होस् या स्वतन्त्र रूपमा संसद्मा जाँदै गरेका पार्टी र व्यक्तिहरू कसरी अगाडी बढ्छन् ? हेर्न बाँकी छ । बोल्न र भाषण गर्नभन्दा काम गरी पुर्याउन धेरै गारो छ । पुराना दलले आफूलाई सुधारेनन् भने यी र अरू नयाँ पार्टीले फेरि पनि अवसर पाउन सक्छन् । नत्र भने यिनीहरू सरकार फेरबदलका लागि किनबेचका बस्तु मात्र बन्नेछन् ।
कसैको पनि स्पष्ट बहुमत नआएको वर्तमान अब बन्ने सरकारको नेतृत्व कुन कुन पार्टीको गठबन्धन हुन्छ ? त्यसैले केही पार्टीको भाग्य र भविष्यको फैसला गर्छ । यदि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने हो र देश, जनता अनि गणतन्त्रका लागि ईमान्दार भएर काम गर्ने हो भने आगामी पाँच वर्षपछि यी दुई दल बाहेक अरूको अस्तित्व समाप्त हुने निश्चित छ । एकथरि मान्छेहरू यही कुराको वकालत गर्दैछन । जसरी लोकतन्त्र र गणतन्त्र ल्याउन काँग्रेस र एमाले एक ठाउँमा भए, यसलाई जोगाउन र विकास गर्न पाँच वर्ष एक ठाउँमा बसेर काम गर्नुपर्छ ।
अर्काथरि मान्छेहरू, जो वाम राजनीतिमा आस्था र विश्वास राख्छन्, उनीहरू वामपन्थी शक्ति एक ठाउँमा रहेर राष्ट्रवादी शक्तिहरूलाई साथमा लिएर सरकार बनाउनु पर्ने विचार व्यक्त गर्दछन् । यदि यस्तो गठबन्धन बन्ने हो र इमानदारीपूर्वक काम गर्ने हो भने आगामी निर्वाचनमा नेपाली काँग्रेस समाप्त हुने उनीहरूको तर्क छ ।
हेर्दा र सुन्दा दुवै थरिका तर्क आ–आफ्नो ठाउँमा ठिक होलान् ! तर, सरकार बनाउने साँचो नेपालमा नभएको कुरा पनि व्यापक छ । हावा नचली पात हल्लिँदैन । तथ्यहरूले पनि त्यही कुराको पुष्टि गरिरहेका छन् ।
विगतका दिनमा नेपालमा ओली सरकारले गरेका कामबाट अत्तालिएका राजनैतिक दल र केही नेताहरूलाई भारतले कसरी प्रयोग गर्यो भन्ने कुराले अबको सरकार बनाउने कुरामा अर्थ राख्दछ । भारतले हड्पेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटेर नेपालको नक्सा प्रकाशित गर्नु नै ओली सरकार गिराउने मुख्य कारण थियो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
छिमेकी राष्ट्र भएर जहिले पनि छिमेकी राष्ट्रको साध सिमाना मिच्न पल्केको भारत विरोधी “सेन्टीमेन्ट”लाई क्यास गरेर ओलीले जुन प्रस्ताव सदनमा पेस गरे, त्यति बेला त्यसको विरोध गर्ने आँट कसैले गर्न सकेनन् । भित्री मनमा भारत चिढाउने मन नभएका केही राजनैतिक दल र भारतको कृपामा बाँचेका नेताहरूले मुख फोर्न सकेनन् । प्रस्ताव एक मतले पास गरे । नक्सा प्रकाशित भयो । अनि भयो खेल सुरु ।
भारतले भरखरै नाकाबन्दीको डटेर सामना गरेका ओलीलाई केही भन्न सकेन तर, उसका आफ्ना आसेपासे र भरौटेहरूलाई राम्रैसँग झपार्यो । हाम्राहरू “गल्ती भयो प्रभु” भनेर लम्पसार परे । गल्ती सुधार्न जे जस्तो हर्कत गर्न पनि पछि नपर्ने बचन भारतलाई दिएको पोल बिस्तारै खुल्दै छ । नेपालमा दशतिर फर्केका, अनेक विचार बोकेका पार्टीहरूलाई एक ठाउँमा गठबन्धन गराउने काम भारतले गर्यो । गठबन्धनको मुख्य काम ओली हटाउने, एमाले सिद्ध्याउने । त्यसका लागि के कस्ता हर्कतहरू भए ? कस्ता कस्ता सेटिङ भए ? कस्ता कस्ता अध्यादेश ल्याइए ? अन्तमा परमादेशबाट एमालेको सरकार गिराइयो । गठबन्धनको सरकार बनाइयो ।
स्थानीय निर्वाचनको परिणामबाट एमालेलाई सिद्ध्याउन नसकिने ठहरपछि भारतले अर्को तुरुप फाल्यो नागरिकता विधेयक ! जहाँ विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गरेको सात दिनभित्र नागरिकता पाउने जुन विधेयक जस्ताको तस्तै पास भएको भए बिस्तारै नेपाल सिक्किम बन्ने पक्का थियो । नेपाली लेण्डुप दोर्जेहरु त्यही विधेयक पास गराउन ज्यान छोडेर लागि परे ! त्यसलाई पनि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिम मोलेर रोकिदिनुभयो । यसका लागि नेपालीले राष्ट्रपतिलाई धन्यवाद दिनुपर्छ ।
फेरि पनि चलखेल जारी छ । भारतीय राजदूत पुरानो गठबन्धनलाई बलियो बनाउन र उसकै सरकार बनाउन लागि परेका छ र भेटघाटमा व्यस्त छन् । गठबन्धनका दलहरूलाई बहुमत पुर्याउन चाहिने सांसद किनेर भए पनि सरकार बनाएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा भारत लागेको छ । नेपाली जनताको चाहनाले सरकार बन्दैन । हामी रवि लामिछानेहरूले जितेकोमा दङ्ग छौँ । खुसी मनाइरहेका छौँ । सवाल व्यक्तिको जितसँगको हैन । हाम्रो राष्ट्रियताले जित्छ कि हार्छ ? हाम्रो स्वाभिमानले जित्छ कि हार्छ ? हाम्रा पार्टी र नेताहरू कसको पक्षमा लाग्लान् ? सवाल अस्तित्व रक्षाको हो।हाम्रो गुमेको भूमिको हो । नागरिकता विधेयकको हो ।
पार्टीको मात्र कुरा हैन व्यक्ति केन्द्रित कुरा पनि चलेका छन् । अबको प्रधानमन्त्री को बन्ला ? गठबन्धनलाई फुटाउन सकेको खण्डमा केपी ओली वा ओलीले चाहेको व्यक्ति यो मुलुकको प्रधानमन्त्री बन्छ भन्नेहरूको पनि यहाँ कमी छैन । नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो भने काँग्रेस भित्रै रडाको छ ! शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंह, शेखर कोइराला कसको पल्ला भारी हुने हो ? देउवा कमजोर भएको खण्डमा पुष्पकमल दाहाललाई नेतृत्व सुम्पन सक्ने कुरा पनि हुनसक्छ । माधवकुमार नेपालले के पाउने ? बहुमत पुर्याउन खोजिने पार्टी वा सांसदले के पाउने ? नेपालीमा एउटा उखान छ “सौताको रिसले पोइको काखमा मुत्ने” दलहरू उपयुक्त पात्रको खोजी गर्दा गर्दै राजेन्द्र लिङ्देन, रवि लामिछाने, सिके राउतको हातमा नेतृत्व जाने चर्चा पनि बजारमा चल्दै छ । जो जसका बारेमा भए घरभित्र कुरा चल्नु नराम्रो होइन तर, हाम्रा त कुरा मात्रै हुन, आदेश त उतैको चल्छ ।
प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ९ : ०६ बजे
प्रतिक्रिया