सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल : पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् । 

कतारको एजुकेसन सिटी स्टेडियममा भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समूह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे । 

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै खेलको २७औँ मिनेटमा कोरियाका किम योङ जीओनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

पहिलो हाफसम्म एक–एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोरियाले एक गोल थप्दै दक्षिण कोरियाको जीत सुनिश्चित गर्‍यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ हिचेनले गोल गरेपछि कोरियाले पोर्चुगलमाथि २–१ को जित निकाल्यो । 

यसैबीच आजै भएको समूह एचको अर्को खेलमा उरुग्वे घानालाई २–० गोल अन्तरले विजयी भएको छ । घानाले खेलको १७औँ मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको माध्यमबाट पेनाल्टी पाएको थियो ।

त्यस्तै उरुग्वेले खेलको २६औँ मिनेटमा अग्रता लियो । नजिअर्जिअन डे अरासेटाले गोल गर्दै उरुग्वेलाई पहिलो अग्रता दिलाएपछि  खेलको ३२औँ मिनेटमा अरासेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे । खेलमा लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै अरासेटाले गोल गरे । 

यससँगै समूह एचबाट घाना र उरुग्वे प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै यस नतिजासँगै पोर्चुगलले तीन खेलमा ६ अङ्क जोड्दै समूहको पहिलो स्थानमा रह्यो भने समान तीन खेल नै खेलेको दक्षिण कोरिया र उरुग्वेले ४–४ अङ्कसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोल अन्तर शून्य भए पनि बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घानाले ३ अङ्क जोड्दै चौथो स्थानमा रह्यो ।रासस 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : २२ बजे