आन्तरिक हवाई उडानमा अत्यधिक चाप

टिआइएमा यान्त्रिक परीक्षण उडान

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलको धावनमार्गको उत्तरतर्फ हालै लोकलाइज जडान गरिएको छ । लोकलाइजरले जहाजलाई सेन्टरलाइन देखाउँछ । ‘सेन्टरलाइजरले सही काम गरेको छ कि छैन र यसको उपयोगिता’ बारे यान्त्रिक उडानमार्फत सम्पूर्ण परीक्षण गरिएको छ । लोकलाइजर जडानपछि विमानस्थलमा जहाज अवतरण सहज हुने विमानस्थलले जनाएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार लोकलाइजरसहित विमानस्थलमा जडान गरिएका सम्पूर्ण सञ्चार प्रणालीको दुई दिनसम्म यान्त्रिक उडानमार्फत परीक्षण गरिएको छ । बिहीबार र शुक्रबार यान्त्रिक उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य प्रभावित भएको थियो । यसअघि मङ्सिरको पहिलो साता एरो थाईको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिन यान्त्रिक उडान गरिएको थियो । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरिएको थियो । पोखरा, काठमाडौँसहित देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिनेछ ।
 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ४२ बजे