आन्तरिक हवाई उडानमा अत्यधिक चाप

यी सात दलहरुले हालसम्म राष्ट्रिय पार्टीको मान्यता पाए

काठमाडौँ – निर्वाचन आयोगले हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ।

निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराउनुभयो ।

प्रत्यक्षमा १० सिट जितेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको मुस्किल भने बढ्दै गएको छ। यो पार्टीले अहिलेसम्म २ लाख ९३ हजार मत ल्याएको छ। १ करोड ९ लाख मत खसेर करिब १ करोड ६ लाख सदर भएको अवस्थामा समाजवादीले ३ लाख १० हजारदेखि २० हजार आसपास मत ल्याए मात्रै राष्ट्रिय पार्टी हुन सक्ने अवस्था अहिले देखिएको छ।

एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ७५ मत गणना भएको छ। न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङजामा मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको स्पष्ट पार्नुभयो ।

‘आज मंसीर १६ गते ४ बजेसम्म १ करोड ३ लाख ८२ हजार ७५ समानुपातिकतर्फको मतगणना भएको विवरण आयोगमा इन्ट्री भइसकेको छ। सिष्टममा इन्ट्री भइसकेको आधारमा ७ दलहरुले सदर मतको ३ प्रतिशत मत कटाउनु भएको देखिन्छु, उहाँले भन्नुभयो, ‘मत गणना भइसकेका ठाउँमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्राप्त गणना गरेको सदर मत, बदर मत र दलले प्राप्त गरेको मतको हार्ड कपी र सफ्ट कपी आयोगमा पेश गर्न पत्राचार गरेका थियौँ।’

बाजुरा, दोलखा स्याङ्जा जिल्ला तीनवटा ठाउँमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना चालु छ। ‘त्यहाँबाट समेत मत गणना समाप्त भएर आयोगमा डाटा आईसकेपछि कुन दलले कति संख्यामा समानुपातिक मत प्राप्त गरेका कुराको निर्क्योगर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘सम्भवतस् दोलखा, बाजुरा र स्याङ्जाको मतगणना समाप्त भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको दलले प्राप्त गरेको समानुपातिक मत निर्क्योल गर्न सकिन्छ।’

उहाँले मंसिर २० गतेभित्र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरुको मत संख्या टुंगो गर्न सकिने बताउनु भयो ।

आयोगले ४ दिनभित्र समानुपातिकतर्फको मतगणना सकिने अनुमान गरेको छ। दलहरुको मत संख्याअनुसार उनीहरुले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरु निर्वाचित हुनेछन। त्यसका लागि आयोगले मत संख्या पठाउने र दलहरुले आफूले बन्दसूचीमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी नामावली पठाउने छन्।

त्यसो गर्दा एकतिहाइ महिलाहरुको संख्या पठाउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगका प्रवक्ता वाग्लेले स्मरण गराउनु भयो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : ०६ बजे