सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा

काठमाडौँ । अर्जेन्टिना र पोल्यान्डले कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन् । 

बुधवार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो । पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । 

दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस म्याक एलिस्टर र म्यानचेस्टर सिटीका फरवार्ड जुलियन मार्टिनेजले समान एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफको ३९औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टी चुकाएका थिए । 

खेलसँगै अर्जेन्टिनाले समूह ‘सी’ मा तीन खेलबाट ६ अङ्क जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अङ्क भए पनि गोल अन्तरमा पोल्यान्ड उपविजेता बन्यो । साउदी अरेबिया भने तीन अङ्क सहित पुछारमा रह्यो । मेक्सिको र साउदीको समूह चरणसँगै प्रतियोगिताको यात्रा सकिएको छ । 

एकै समयमा भएको खेलमा मेक्सिकोले साउदीलाई २–१ अन्तरले पराजित गरेको हो । अन्तिम समयमा गोल बेहोर्दा मेक्सिको छनोट हुन सकेन । पहिलो खेलमा अर्जेन्टिनालाई २–१ अन्तरले पराजित गरेको साउदी बाँकी खेलमा पराजित हुँदा समूह चरणबाट माथि बढ्न सकेन । 

अब, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले अस्ट्रेलिया र पोल्यान्डले फ्रान्सको सामना गर्नेछ । 

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ५६ बजे