खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

दोलखाको पुनः मतदानमा सुरक्षा व्यवस्था कडा, ४ सय सुरक्षाकर्मी परिचालन,ढुक्कसँग मतदान गर्न अपिल

चरिकोट । दोलखामा बिहीबार हुन गइरहेको पुनः मतदानमा सुरक्षा व्यवस्था कडापारिएको छ । मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका बुथमा हुन गइरहेकोनिर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ गरिसकिएको प्रहरीले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न अपिल गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता राजेश सिग्देलले पुनः मतदानमा ४ सय सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । ’यसअघि बुथ कब्जा भएका ठाउँमा अब फेरि बुथ कब्जा हुँदैन, निर्धक्कका साथ मत हाल्न आउनुस् भनेर
विश्वस्त दिलाउन चाहन्छौ’, प्रहरीले भनेको छ ।

सबै सुरक्षाको तयारी पूरा भएको र सबै टोलीहरू खटिसकेको पनि प्रवक्ता सिग्देलले जानकारी गराउनुभयो । कानुन भन्दा बाहिर गएर कुनै गतिविधि भए तत्काल पक्राउ गरी कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पुनः मतदानमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गरिसकिएको बताउनु भयो । उहाँले पुनः मतदान हुने क्षेत्र पुरै सिल गरिने पनि बताउनुभयो ।निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न र डर त्रसरहित बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखिएको उहाँको भनाई छ ।

बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख बिहीबार पुनः मतदान हुँदै छ  ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : १५ बजे