खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पर्वतमा जिपलाइनबाट साइकल यात्रा

पर्वत । विश्व साइकल यात्री अजित बरालले पर्वतमा सञ्चालित जिप लाइनमा पहिलो पटक साइकल कुदाउनुभएको छ ।  कुश्मास्थित जिप लाइनमा उहाँले मङ्गलवार साइकल कुदाउनुभएको हो । 

जिप लाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिप लाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । 

पर्यटकीय सहर पोखराको लेक साइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उहाँलाई साइक्लिङको नसा चढेको हो । त्यो बेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाउनुभयो । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गर्नुभएको छ । 

बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ । उहाँले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गर्नुभएको छ । 

साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ ।

बरालको जिप लाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ । रासस

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ४३ बजे