चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड सङ्क्रमित, मुख्य सहरमा सरकारविरुद्ध प्रदर्शन

बेइजिङ । चीन पछिल्लो २४ घण्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । 

उनीहरूमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा पछिल्लो समयमा कोभिड सङ्क्रमितको सङ्ख्या तीव्र ढङ्गले बढिरहेको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो । 

सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरूमा विशाल प्रदर्शनहरू भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् । उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।एजेन्सी

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ३३ बजे