‘एउटै नाउरको सिकार गर्न २३ लाख’

त्रिशङ्कु संसद् : राजनैतिक अस्थिरता र बाह्य चलखेलको आधार

सामाजिक सञ्जालमा कतिले लेखेका छन्, ‘२०७९ को जनादेश परिवर्तनको सङ्केत हो!’ यो कस्तो परिवर्तनको सङ्केत हो ? उनीहरूले आजको राजनैतिक तथा संवैधानिक व्यवस्थामा कस्तो परिवर्तन खोजेका हुन् र देखेका छन् ? लोकतान्त्रिक गणतन्त्रका बारेमा तिनीहरूको धारणा के हो ? त्यो भने भनेका छैनन् । बहुदलभित्र निर्दलीय अभ्यासका बारेमा तिनीहरूले विरोध नै गरेका पनि छैनन् । यो खालको वैचारिक अस्पष्टता र अवसरवादलाई परिवर्तन भन्ने कि नभन्ने ? यसले देशको राजनीतिक भविष्य कस्तो बनाउला ? यसको उत्तर खोज्न कठिन छैन किनभने अवसरवादले कतिखेर आफ्नो रङ बदल्छ पत्तो नै हुँदैन । हामी याद गर्नु पर्नेछ ।

भारत नेपालमा आजको राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तन गरेर आफ्नो अनुकूल बनाउन चाहन्छ । यसका लागि उसले नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नयाँ बन्दै गरेको पार्टीको एउटा खेमालाई उपयोग गरिरहेको छ । त्यस्तै, पश्चिमले पनि वर्तमान राजनैतिक तथा संवैधानिक व्यवस्थालाई आफू अनुकूल बनाउने अनेक प्रयासहरू पनि गर्दै छ। दुवै पक्षको तात्कालिक उद्देश्य नेपालको वामपन्थी आन्दोलन विभाजित गरेर कमजोर बनाउने र नेपालमा आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने हो । त्यसको कसरत सुरु भएको छ । यसको सङ्केत भारतीय राजदूत नवीन श्रीवास्तवको दौडधुपले गरेको छ । तर अमेरिकाको चाहाना ‘प्रोजेक्ट प्रधानमन्त्री’ को अभियानबाट झल्किएको छ । त्यसैले त रबी लामिछानेको पार्टीले नेपाली काँग्रेसका महामन्त्री गगन थापाका विरुद्ध उम्मेदवारी नै नदिएर थापालाई नै जिताउन सघाएको थियो ।

दक्षिणपन्थीहरूले देशलाई समस्यामा पार्ने गरी चालेको चालप्रति समय मै जनतालाई सचेत र राजनीतिक रूपमा साक्षर बनाउन नसक्दा एकातिर त्रिशङ्कु संसद् बन्यो भने अर्कातिर बाह्य चलखेल बढ्ने वातावरण बन्दै छ । यो आजको यथार्थ हो । दक्षिण पश्चिमले चाहेको जस्तो सरकार बन्ने संसद्को अङ्कगणित बनेको छ । यदि त्यसमा तलमाथि हुने अवस्था बन्यो भने प्रोजेक्ट प्रधानमन्त्री बनाउने सर्तमा देशलाई केही समयपछि अर्को चुनावको घोषणा पनि गराइने छ । तर उनीहरूको जोड सकेसम्म यही संसद्बाट प्रोजेक्ट प्रधानमन्त्री बनाउने नै हो । प्रचण्ड र रबीहरूलाई सके फकाएर नसके थर्काएर प्रोजेक्ट प्रधानमन्त्री बनाउन सहयोगी बन्न दबाब दिनेछन् । त्यतिखेर प्रचण्ड र रबी तयार भएता पनि नेपाली काँग्रेस भित्रको एउटा खेमा तयार नहुन सक्छ । यसका लागि उनीहरूले अर्को रणनीति अपनाउने छन् । प्रोजेक्ट प्रधानमन्त्रीलाई अहिलेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएर शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाइने छ ।

राजनीतिमा वैचारिक र नीतिगत पक्ष बलियो र दूरदर्शी नेतृत्व चुन्नुपर्छ भन्ने बारेमा जनतालाई साक्षर बनाउन नसक्दा भ्रम, प्रभाव र प्रलोभन हाबी हुँदा संसद् त्रिशंकुमात्र बनेन दलाल पुँजीवादी र दक्षिणपन्थी अवसरवादीहरूको उपस्थिति बलियो देखिँदै छ। उनीहरू देश कमजोर बनाउने त्रिशङ्कु संसद् बनेकोमा उत्साहित भएका छन्। रबी लामिछानेको नेतृत्वमा रहेको पार्टीले पाएको जनादेश जनताको वितृष्णा र नकारात्मक मनोविज्ञानको परिणाम हो । 

जसरी हिजो चितवनमा प्रचण्डसँग मिलेर धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रङ्गशाला बनाउने भन्दै जनताको लगानी र भावना दुरुपयोग गरेर रङ्गशाला निर्माणको काम अलपत्र बनाएका छन् । त्यसरी नै यो निर्वाचनमा रबी लामिछानेको नेतृत्वमा रहेको पार्टीले गगन थापासँग मिलेर नेपाली जनताको परिवर्तन र विकासप्रतिको मनोभावनालाई दुरुपयोग गर्न सफल भएको छ । हामीले बुझ्नुपर्छ, आए आँप गए झटारो प्रवृत्तिको राजनीतिले देश बनाउने होइन, देशलाई भोलि सङ्कटमा पार्नेछ ।

राजनीतिमा ग्ल्यामरभन्दा विचार र व्यवहार मुख्य मानक बन्छ र बनिरहन्छ । यही मानकले नै लोकतन्त्रलाई बलियो बनाउँछ । अहिले त्यो मानक अनपेक्षित रूपमा कमजोर बन्दा जनताले परिपक्व भएर आफ्नो प्रतिनिधि छान्न सकेनन् । यसले अब देशको यात्रा कता मोडिएला ? यसै भन्न सकिने अवस्था छैन । तर पनि यो अस्थिरताका बीच भोलिको राजनीति स्थिर र देश पक्षीय बनाउने चुनौतीलाई अवसरका रूपमा बदल्नुबाहेक तत्काल अर्को विकल्प छैन । यो तथ्यलाई स्विकारेर वामपन्थी तथा देशभक्तहरू आगामी राजनीतिका लागि नयाँ रणनीति बनाएर अघि बढ्नुपर्ने भएको छ ।

सेतोपाटीका अमित ढकालले ‘हिजोको गल्ती सच्याऊ, वामपन्थी सरकार बनाऊ’ शीर्षकको लेखमा भनेका छन्, “नेकपाको विभाजन र अहिले आएको विभाजित जनमतले सबभन्दा धेरै घाटा मुलुकलाई हुने देखिँदै छ । केही दर्जन सांसद लिएर प्रचण्ड यता र उता चलायमान रहुन्जेल राजनीतिले निकास पाउने छैन । न स्थिरता, विकास वा सुशासनकै कुनै गुन्जाइस रहनेछ । ‘.. नेपाली काँग्रेस सत्तामा बस्नुको कुनै तुक छैन । यसको पार्टपुर्जामा मुलुकलाई प्रगति दिने सामर्थ्य छैन । पुरानो गाडीले राष्ट्र निर्माणको अभिभारा बोक्न सक्दैन । जरैदेखि नयाँ बनाउन व्यापक सुधार चाहिन्छ । जनताले काँग्रेसको नेतृत्वको गठबन्धन स्वीकृत गरेका छैनन् । यसको संरचना र दलमा सङ्गठित हुने प्रक्रिया बदल्न जरुरी छ । यसलाई आफ्ना कार्यकर्ताबाट मुक्त गर्नु र आमजनताकोमा लैजान आवश्यक छ । अर्थात् यसको पुनर्निर्माण आवश्यक छ ।” 

नेपाली काँग्रेसका बारेमा विश्लेषक डम्बर खतिवडाले सामाजिक सञ्जालमा लेख्छन्, “गणितमा पहिलो भएता पनि खासमा यो चुनावमा ठुलो नैतिक तथा राजनीतिक पराजय नेपाली काँग्रेसको भयो । एक्लै देशभरि उम्मेदवारी दिने र प्रतिस्पर्धा गर्ने पार्टीले यति ठुलो महागठबन्धन हुँदा समेत पाएका सिट पनि जित्न सकेन । समानुपातिकमा पनि दोस्रो हुँदै छ । विजातीय दलहरूलाई बोकेर हिँडेको काँग्रेसले राम्रै सजाय पाएको छ ।” 

नेपाल स्वतन्त्र राष्ट्रिय पार्टीका बारेमा उनै डम्बर खतिवडाले ‘रबीले धान्न सक्लान् त यति ठुलो मत भार ?’ भन्ने शीर्षकमा लेखेका छन्, “रबीको पार्टीले सङ्घीयता, समावेशिता र आरक्षणको विरुद्धमा जाने प्रष्ट सङ्केत दिइसकेको छ, जो नेपाली राजनीतिको पछिल्लो एक महत्त्वपूर्ण प्रगतिशील मुद्दा हो । त्यसैको सन्देश दिन पार्टीले प्रदेशसभातिर उम्मेदवारी दिएन । रबीले प्रदेशको व्यालेटमा भोट हालेनन् । बालेन्द्र शाहले प्रदेशतिर मतदान गर्न अस्वीकार मात्र गरेनन् मतदान केन्द्रका सामु ‘हिरोइज्म’ प्रस्तुत गरेर उनी यी मुद्दाप्रति कति नकारात्मक छन् भन्ने छर्लङ्ग पारे । विचार लुकाएर, एजेण्डामा अस्पष्ट वा मझधार बसेर अघि बढ्न सक्ने सम्भावना अब रबीका लागि समाप्त भएको छ, संसद्मा सत्ताको चाबी उनको पार्टीसँग आउने सम्भावना पनि छ । कसको गठबन्धनमा किन सामेल हुने र त्यो सरकारले कस्ता नीति, योजना र कार्यक्रम ल्याउने भन्ने विषयमा कुनै तटस्थता हुन सक्दैन ।”

सामाजिक सञ्जालमा रबी लामिछानेकै पार्टीको बारेमा रञ्जित तामाङ लेख्छन्, “नेपाल स्वतन्त्र राष्ट्रिय पार्टीले काठमाडौँ ४ मा गगन थापाका विरुद्ध उम्मेदवारी नदिनु र अहिले शेरबहादुर देउवा निकट प्रकाशशरण महतले ‘नेपाल स्वतन्त्र पार्टीसँग सहकार्य हुँदैन’ भन्नु संयोग मात्र होइन । उम्रिएर २०÷३० वटा पात नहाल्दै यस्तो शङ्कास्पद व्यवहार हुन्छ भने, नेपाल स्वतन्त्र पार्टी भविष्यमा कि रूखको ऐँजेरु बन्छ, कि घाम ताप्ने पोखरीको जलकुम्भी ।”

२०७९ मङ्सिर ४ को निर्वाचनबाट त्रिशङ्कु संसद् बन्ने पक्का भएको छ । यसले राजनैतिक अस्थिरता बढेर नेपालमा बाह्य चलखेल बढ्ने आधार तयार गरेको छ । यसका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दक्षिणपन्थी अवसरवाद, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिरता र उपयोगितावाद, नेकपा एकीकृत सामावादीका अध्यक्ष माधव नेपालको कुण्ठावाद र राष्ट्रिय स्वतन्त्र पार्टीको अराजक यथास्थितिवादी दक्षिणपन्थी अवसरवादले नेपालको राजनीतिलाई अर्को सङ्क्रमणमा फसाउँदै छ भन्ने सङ्केत गरेको छ । तर आफ्ना कमजोरीहरू लुकाउन ती पक्षहरूले नेकपा एमाले र यसका अध्यक्ष केपी ओलीका विरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

निर्वाचनमा सबै दलहरू एक्ला एक्लै चुनाव लडेको भए दलको क्षमता र लोकप्रियताको सही मापन हुने थियो । तर त्यो अवसरलाई राजनीतिक दलहरूले खासगरी नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीहरूले उपयोग गर्ने आँटै गरेनन् । त्यसमा पनि नेपाली काँग्रेसले एक्लै चुनाव लड्ने र जित्ने कल्पना नै गर्न सकेन । जसले गर्दा कुन दलको कति हैसियत भनेर मापन हुनै पाएन । वामपन्थी दलहरूबीच सहकार्य हुन नदिन र नेकपा एमालेलाई हराउन वामपन्थी विरोधी शक्तिहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीहरूलाई उपयोग गर्न सफल भए । जसका कारणले नेपाल अर्को चरणको राजनीतिक सङ्क्रमण र अस्थिरतामा प्रवेश गरेको छ। यसलाई दक्षिण पश्चिमले राम्रो अवसर ठानेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ४४ बजे