खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सुनसरी–२ बाट प्रतिनिधिसभामा विजयी एमालेका भीम आचार्यको चौथो संसदीय यात्रा

धरान ।  प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी हुनुभएको छ । 

प्रदेश नं १ का पूर्व मुख्यमन्त्री समेत रहनुभएका आचार्य ३२ हजार आठ मत ल्याएर फराकिलो अन्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याउनुभयो ।

यस्तै प्रदेशसभा २ मा एमालेकै रामप्रसाद महतो १८ हजार एक सय ९१ मतसहित विजयी हुनुभएको छ ।  काँग्रेसका राजीव कोइरालाले १७ हजार छ सय ३६ मत मात्रै पाउनुभयो । प्रदेशसभा १ मा एमालेकै रेवती भण्डारी विजयी भइसक्नुभएको छ ।

भीम आचार्यको संसदीय यात्रा
​​​​​​​विसं २०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहनुभएका भीम आचार्यले यस पटक क्षेत्र नं २ को टिकट लिनुभएको थियो । 

सुनसरीको इनरुवा–६ (साबिक मधेस गाविस–९)का स्थायी बासिन्दासमेत रहनुभएका आचार्य विसं २०५१ र २०५६ मा सुनसरी–४ बाट संसदीय यात्रा गर्दा पराजय भोग्नुभएको थियो । 

विसं २०६४ र २०७० मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले विजय हासिल गर्नुभएको थियो । पहिलो पटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो हुनुभयो । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुनुभयो ।

त्यसपछि प्रदेश नं १ को मुख्यमन्त्री बन्न चाहनुभएका आचार्यले २०७४ सुनसरी–१ प्रदेशसभा २ बाट विजयी हुनुभयो । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोर्नुभयो ।

एमालेमा माधवकुमार नेपाल निकट मानिनु हुने आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेर पार्टी संरक्षणमा लाग्नुभयो । त्यस लगत्तै उहाँलाई पार्टीले मुख्यमन्त्री बनाएको थियो । 

विसं २०१६ मा धनकुटामा जन्मिनुभएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा अब्बल आचार्य विभिन्न देशका विकासका मोडल अध्ययन र अवलोकन गर्नुभएको छ । 

उहाँले विसं २०३२ देखि विद्यार्थी आन्दोलनमा लाग्नुभयो । विसं २०३९ मा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गर्नुभएको थियो । विसं २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि पर्नुभयो । २०४६ को जनआन्दोलनमा उहाँ नेकपा (माले)को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भएपछि उहाँ पार्टी राजनीतिमा उदाउनुभएको थियो ।

विसं २०४७ मा एमाले गठन भएपछि उहाँ सुनसरी जिल्ला कमिटी सचिव हुनुभयो । पार्टीमा सक्रिय उहाँ २०५४ मा उहाँ पार्टीको केन्द्रीय सदस्य बन्न सफल हुनुभयो । 

विसं २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ मा कोसी अञ्चल इन्चार्ज र प्रदेश स्थापना भएपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाउनुभयो । नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित हुनुभएको थियो । रासस 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : २२ बजे