१९ औँ हस्तकला व्यापार मेला हुने मङ्सिर २३ गतेदेखि हुने 

काठमाडौँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ । 

महासङ्घले शुक्रवार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो ।

अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिनुभयो । 

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला)र पौभा थाङ्का गरी तीन वटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो । 

उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । 

काष्ठकला, प्रस्तरकला, मैनकला, मूर्तिकलामा  मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ । 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ०६ बजे