हराएको बुद्धको मूर्ति ४८ वर्षपछि भेटियो

धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । 

हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । 

बहिटोलबाट हराएको उक्त बुद्ध मूर्ति आगामी बुधवार बाजागाजासहित स्थानीयवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । प्रतिस्थापन गर्नुअघि मूर्तिलाई नाला तीन दोबाटोदेखि टेलिकम हुँदै नगर परिक्रमा गराउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समय अघि नै काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको सूचना पाए पनि अहिले ल्याउने तयारी थालिएको भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभयो । पुरातत्त्व विभागको सक्रियतामा मन्दिरको पुनः निर्माणपछि मात्र पूर्ण सुरक्षा र व्यवस्थापनका साथ मूर्तिको प्रतिस्थापन गर्न लागिएको उहाँको भनाइ छ । 

मूर्ति हराउनु पूर्व मन्दिरको अवस्था र व्यवस्थापन प्रभावकारी नभएकाले मूर्ति हराएको स्थानीयवासीको भनाइ छ । पुरातत्त्व विभागले रु एक करोडको लगानीमा मन्दिरको पुनः निर्माण गरेको छ । 

आगामी दिनमा मूर्ति र मन्दिरको सुरक्षाका लागि सिसी क्यामरा, मजबुत संरचना लगायतको व्यवस्थापन गरिएको श्रेष्ठले बताउनुभयो । 

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ३९ बजे