सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी 

कर्णाली । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गर्नुभएको थियो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : १५ बजे