प्रधानमन्त्री देउवा डडेलधुराबाट सातौँ पटक विजयी

डडेलधुरा । डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ । योसँगै उहाँले सातौँ पटक जित हासिल गर्नुभएको हो ।

कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । 

उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली काँग्रेस ९बिपी०का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेलधुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । 

विसं २०४८ को आम चुनावमा देउवा डडेलधुराबाट विजयी हुनुभयो । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेलधुराबाट जित्नुभएको थियो । 

यस पटक सातौँ पटक पनि डडेलधुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ०५ बजे