शिक्षामा मातृभाषाहरूको प्रयोग किन र कसरी ?

मातृभाषामा शिक्षा अर्थात् बहुभाषिक शिक्षाका बारेमा आफ्नो प्रभाव र स्वार्थअनुसार यसको महत्त्व र आवश्यकताका बारेमा भाषाविद् तथा शिक्षाविद्हरूले आ–आफ्नो धारणा दिइरहेको र त्यो धारणालाई कार्यान्वयन गर्न भूमिका खेलिरहेको देखिन्छ। केही भाषाविद् र शिक्षाविद्हरूको गलत विश्लेषण, व्याख्या र प्रयोगको प्रस्तावले बहुभाषिक शिक्षा नीति र अभ्यासका बारेमा आम अभिभावकहरू मात्र होइन राज्यका मुख्य सरोकारवाला निकायहरूलाई पनि भ्रमित बनाइरहेको अवस्था छ । यो भ्रमबाट मुक्त बनाउन शिक्षामा मातृभाषाहरूको प्रयोग किन र कसरी भन्ने प्रश्नमा हामी सबै स्पष्ट हुनुपर्ने भएको छ ।

मुख्य कुरा शिक्षामा भाषाहरूको प्रयोग सन्दर्भ, आवश्यकता र क्षमताहरूले निर्धारण गर्ने गर्दछ। तर शिक्षामा भाषिक नीतिको वकालत एउटा ढङ्गले हुने र कार्यान्वयनमा जाँदा अर्कै गतिविधिहरू गरिने जुन खालको अभ्यास भइरहेको छ ।   त्यसले आम अभिभावक र अन्य सरोकारवालाहरूलाई सशङ्कित बनाएको छ। फेरि बहुभाषिक शिक्षाको सैद्धान्तिक व्याख्या र अभ्यासबीच कुनै तालमेल मिलेको देखिँदैन। जसलेगर्दा बहुभाषिक शिक्षा कार्यान्वयन प्रभावकारी बन्न सकिरहेको छैन । यस्तो अवस्था नेपालमा मात्र होइन, विश्वका अन्य मुलुकहरूमा पनि रहेको अध्ययनले देखाउँछ ।

शिक्षामा मातृभाषाहरूलगायत अन्य भाषाहरूको प्रयोग कुन प्रयोजनका लागि कसरी र कतिखेर गर्ने भन्ने कुरामा भाषिक नीति बनाएर त्यसमा स्पष्ट व्यवस्था भएको हुनुपर्थ्यो। तर नेपाललगायत अधिकांश मुलुकहरूको आफ्नो मुलुक सुहाउँदो भाषिक नीति नै छैन। दातृ निकाय तथा संस्थाहरूको प्रस्ताव र लगानीमा कार्यक्रमहरू भइरहेका छन्। जसले स्थानीय तथा राष्ट्रिय आवश्यकता र सन्दर्भहरूलाई नजरअन्दाज गरेको देखिन्छ किनभने दातृ निकाय तथा संस्थाहरूले आ–आफ्नै स्वार्थअनुसार लगानी गरिरहेका छन् । जसलाई राज्य संयन्त्रहरू थाहा पाएर पनि थाहा नपाए झैँ गरेर सहयोग गरिरहेको अवस्था छ। स्थानीय सङ्घ–संस्थाहरूले पनि परियोजना पाउने लोभमा दातृ निकाय तथा संस्थाहरूको दबाबमा परेर काम गरिरहेको स्थिति छ । परिणामस्वरूप बहुभाषिक शिक्षाप्रति राज्यले अपनत्व लिएको छैन र भएका कार्यक्रमहरू पनि विवादित भएर प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

दाताहरूको प्रभाव र दबाबमा परेर होइन, हाम्रो अवस्था र आवश्यकतालाई हेरेर बहुभाषिक शिक्षा कार्यक्रमको कार्यान्वयनको ढाँचा विकास गर्नु पर्नेछ ।

बहुभाषिक शिक्षालाई सबै ठाउँमा एउटै ढाँचामा लागु गर्न सकिँदैन भन्ने कुरा हामीले बुझ्न र बुझाउन सकिरहेका छैनौँ। शिक्षामा भाषाहरूको प्रयोगको मुख्य उद्देश्यहरू सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै सबै भाषाभाषीहरूको पहिचानलाई संरक्षण र प्रवर्द्धन, भाषिक तथा सांस्कृतिक विविधताभित्र एकता र सद्भावको विकास गर्दै राष्ट्रिय एकता बलियो बनाउनु हो । स्थानीय ज्ञान, विज्ञान र सीपहरूलाई विशिष्टीकृत बनाएर सामाजिक तथा आर्थिक रूपान्तरणको बलियो आधार तयार गर्नु पनि हो। त्यो भन्दा पनि मुख्य कुरो शिक्षामा बालबालिकाहरूको आवश्यकतालाई पहिलो प्राथमिकता दिनु हो किनभने मातृभाषाको प्रयोग गरेर विद्यालय छोड्ने प्रवृत्ति घटाउँदै उनीहरूलाई उच्च शिक्षामा सफल बनाउनु हो । त्यसैले हाम्रो सन्दर्भमा बहुभाषिक शिक्षालाई विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूका लागि उच्च गुणस्तरको शिक्षा र सिक्ने अवसरहरू प्रदान गर्ने रूपमा परिभाषित गर्नुपर्ने देखिन्छ ।

बहुभाषिक शिक्षा नीति र माध्यम भाषाहरूलाई लिएर टोलेफ्सन र त्सुईले भनेका छन्, “शिक्षाको माध्यम भाषिक नीतिले कुन सामाजिक र भाषिक समूहको राजनीतिक र आर्थिक अवसरहरूमा पहुँच छ र कुन समूहलाई अधिकारबाट वञ्चित गरिएको छ भन्ने निर्धारण गर्छ । त्यसैले बहुभाषिक शिक्षा शक्ति (पुनः) वितरण र सामाजिक (पुनः) निर्माणको प्रमुख माध्यम हो ।” पछाडि परेका र सीमान्तकृत सामाजिक तथा भाषिक समुदायहरूको क्षमता विकास र देश विकासको मूल प्रवाहमा उनीहरूको योगदान बढाउन पनि भाषिक तथा सामाजिक रूपमा उनीहरूलाई सशक्त बनाउनु पर्ने भएको छ । यसका लागि सबभन्दा पहिला उनीहरूको भाषालाई विद्यालय शिक्षाको सुरुवाती कक्षाहरूमा माध्यम भाषा बनाउने र माथिल्लो कक्षाहरूमा विषय शिक्षाको रूपमा पढाउने व्यवस्था गरिनुपर्छ ।

नेपालको सन्दर्भमा शिक्षामा मातृभाषालाई माध्यम भाषाका रूपमा प्रयोग गर्दा देवनागरी लिपी मै प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्छ । किनभने नेपाली भाषा र मातृभाषाहरूको लिपी एउटै भएमा विद्यार्थीहरूले मातृभाषामा सिकेको साक्षरता सीप प्रयोग गरेर सजिलै नेपाली भाषामा पनि राम्रो दक्षता हासिल गर्न सक्छन् भने नेपाली भाषी विद्यार्थीहरूले पनि मातृभाषामा आधारभूत साक्षरता प्राप्त गर्ने अवसर पाउँछन्। मातृभाषाहरूलाई माध्यम भाषाका रूपमा प्रयोग गरुन्जेल नेपाली र अङ्ग्रेजी भाषालाई विषय शिक्षाका रूपमा पढाउनु पर्छ । तर नेपाली भाषीहरूलाई मातृभाषालाई ऐच्छिक विषयका रूपमा बढाउने व्यवस्था गरिनुपर्छ । यो खालको अभ्यासले विद्यार्थीहरूमा एक अर्काको भाषाको महत्त्व बुझ्ने र भाषालाई सम्मान गर्ने मनोविज्ञानको विकास हुनुका साथै एक अर्काको भाषाको विकासमा योगदान गर्ने व्यावहारिक वातावरण पनि बन्छ। यसले विविधताबीच एकता र सामाजिक सद्भाव अनि सहकार्य पनि बलियो बनाउँछ ।

अहिले हामीले कार्यान्वयनमा लैजाने प्रयास गरिरहेको बहुभाषिक शिक्षालाई बहुभाषिक भनेता पनि यसको कार्यान्वयनको प्रकृति एकलभाषी प्रकृतिको देखिन्छ । विद्यालयसम्म आएका सबै विद्यार्थीहरूको मातृभाषाहरूलाई समेट्न खोजेको पाइँदैन ।  नेपाली भाषाबाहेक मातृभाषाहरू मध्येबाट सबभन्दा ठुलो भाषालाई प्राथमिकता दिएको देखिन्छ । यसलाई बहुभाषिक शिक्षा मान्न सकिँदैन । त्यसैले सबै विद्यार्थीहरूले आफ्नो घरको भाषालाई माध्यम भाषाका रूपमा प्रयोग गर्न अवसर पाउनुपर्छ भन्ने मान्यतालाई स्विकारेर बहुभाषिक शिक्षालाई कार्यान्वयनमा लैजाने भाषिक नीति र पाठ्यक्रमको तयारीसँगै शिक्षकहरूलाई सक्षम पनि बनाउनुपर्छ ।

बहुभाषिक शिक्षाले विद्यार्थीहरूको सामाजिक र पारिवारिक पृष्ठभूमिलाई बुझेर उनीहरूको भाषालाई प्रयोग गर्ने रणनीति लिएको हुनुपर्छ । जसले विद्यार्थीहरूको घरको भाषा, संस्कृति र अभ्यासहरूलाई प्रयोग गरेर बहुभाषिक शिक्षा प्रणालीका माध्यमबाट सबैका लागि आधारभूत शिक्षा गुणात्मक बनाउँदै माथिल्लो कक्षामा उनीहरूको शैक्षिक उपलब्धि विशिष्ट बनाउन सकिन्छ । नेपालमा यो दृष्टिकोणबाट बहुभाषिक शिक्षालाई न राज्यले न त समुदायले नै लागु गर्न खोजेको देखिन्छ । परिणाम स्वरूपमा नेपाल बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयनमा नजाँदै ठिक छैन भन्ने अवधारणा बन्न जान्ने सम्भावना प्रबल बन्दैछ । 

अन्तमा बहुभाषिक शिक्षालाई प्रभावकारी र उपलब्धिमूलक बनाउनका लागि शिक्षामा भाषाहरूको महत्त्व र आवश्यकतालाई ठिक ढङ्गले बुझेर त्यसको सन्तुलित र व्यवस्थित प्रयोग गर्ने रणनीति अख्तियार गर्नुपर्ने भएको छ । यसका लागि भाषा आयोग, शिक्षा मन्त्रालय, स्थानीय सरकार र शिक्षाविद्हरूले इमानदार भएर आ–आफ्नो जिम्मेवारीहरू पूरा गर्दै समुदायलाई यसको महत्त्व र आवश्यकता बुझाउँदै गुरु योजना बनाएर कार्यान्वयनमा लैजान योगदान गर्नै पर्ने परिस्थित निर्माण हुँदै छ । यो परिस्थितिको अनिवार्यतालाई बुझाउन र कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन सञ्चार माध्यमहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । दाताहरूको प्रभाव र दबाबमा परेर होइन, हाम्रो अवस्था र आवश्यकतालाई हेरेर बहुभाषिक शिक्षा कार्यक्रमको कार्यान्वयनको ढाँचा विकास गर्नु पर्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ३२ बजे